पार्टी एकता कार्यदलप्रति अध्यक्षद्वय असन्तुष्ट
फाइल तस्बिर

काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को पार्टी तथा सांगठनिक एकता टुंग्याउन गठित कार्यदलले प्रतिवेदन नबुझाउँदा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट बनेका छन् । अध्यक्षद्वयले कार्यदललाई पुस मसान्तभित्र एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएका थिए । तर माघको तेस्रो हप्ता बितिसक्दा पनि कार्यदले प्रतिवेदन बुझाउन सकेको छैन । प्रतिवेदन नबुझाउँदा अध्यक्षद्वय असन्तुष्ट बनेको स्रोतले बताएको छ । 

स्थायी कमिटीको गत पुस १२ को बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल सम्मिलित कार्यदल गठन गरेको थियो । 

कार्यदलका सदस्यहरू काम छाडेर भ्रमण र उद्घाटनतिर लागे । सोही कारण पटक–पटक बस्ने भनेर तोकिएको मितिमा वैठक बस्न सकेन । लामो समयपछि २१ माघ सोमबार सचिवालय बैठक बस्यो । सो वैठकमा कार्यलदको कार्य प्रगतिकाबारेमा छलफल भयो । वैठकले प्रतिवेदन जे जस्तो अवस्थामा छ सोही बुझाउन २२ माघ मंगलबारको समय दियो । तर मंगलबार वैठक नै वस्न सकेन । सो दिन त्यत्तिकै टर्यो । 

अध्यक्षद्वय ओली र दाहालको दवाब कार्यदलमाथि पर्यो । कार्यदलको कामप्रति अध्यक्षद्वय असन्तुष्ट देखिए । कार्यदललाई अध्यक्षद्वयको दवाबपछि वैठक २ माघ बुधबार दिउँसो तीनबजेका लागि तय भयो । तर वैठक बस्न सकेन । फेरि बिहीबार वैठक बस्यो ।  

बिहीबार बसेको बैठकमा कार्यदलका संयोजक समेत रहेका रामबहादुर थापा ‘बादल’ले अचानक प्रतिवेदन पेश गरे । बादलको प्रतिवेदनमाथि कार्यदलका बहुमत सदस्यले असन्तुष्टि जनाए । बादल र पार्टी महासचिव विष्णु पौडेल जेजति सहमति जुटेको छ, त्यसको प्रतिवेदन बुझाएर कार्यदललाई भंग गर्ने दाउमा थिए । तर असफल भए । 

त्यसपछि संयोजक बादलले शुक्रबारका लागि बैठक बोलाए । शुक्रबार बसेको बैठकमा संयोजक बादलले पेश गरेको प्रगति प्रतिवेदन पारित भएको कार्यदलका एक सदस्यले फरकधारलाई जानकारी दिए । उनले बादलको प्रतिवदनमाथि छलफल गर्दै त्यसलाई टुंगोमा पुर्याउने काम भएको बताए । साथै उनले उक्त प्रतिवेदन नै सचिवालयलाई बुझाउने र वाँकी काम पनि यहि कार्यदलले गर्न सक्ने भएकाले थप समय माग गर्ने निर्णय गरेको बताए । 



कार्यदलका सदस्यहरू कार्यदलले गरेका कामलाई असफल बनाउने पक्षमा छैनन् । असफल बनाउनु भनेको सिंगो पार्टीलाई असफल बनाउनु हो । यसले कार्यकर्ताको मनोबल झन गिर्छ । त्यसैले छलफलका लागि समय माग गरिएको हो । कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसैलाई थप समय दिने वा सचिवालयलेनै टुंगाउने भन्नेबारे अध्यक्षद्धयले निर्णय गर्ने बताइएको छ । कार्यदल भंग गरेर वाँकी काम सचिवालयलेनै टुंग्याउने वा कार्यदललाईनै थप समय दिने भन्नेबारे सचिवालयमा पनि टसल परेको स्रोतले बतायो । 

कार्यदलको कामप्रति असन्तुष्टि जनाउँदै नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले कार्यदलकै कारण पार्टीको काम अगाडि बढ्न नसकेको बताए । उनले भने,’कार्यदलाई पुस मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिइएको थियो । तर अहिलेसम्म प्रतिवेदन प्राप्त भएको छैन । यसले गर्दा पार्टीका मुख्य कामहरू रोकिएका छन् ।’ 



यता स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) को चुनावी चर्चा छ । पूर्व एमाले र माओवादी पार्टी निकट विद्यार्थी नेताहरू अन्योलनमा छन् । पार्टी एक भए पनि विद्यार्थी संगठन भने एक छैनन् । सार्वजनिक कार्यक्रममा विद्यार्थी नेताहरूले माओवादी र एमालेकै हैसियतमा परिचय दिंदै आएका छन् ।

‘कार्यदलले प्रतिवेदन नबुझाउँदाको असर हामीलाई परेको छ, पूर्व माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले फरकधारसँग कुरा गर्दे भने, ‘कार्यदलले छिटो प्रतिवेदन बुझाउनुपर्छ । स्ववियु निर्वाचन अगाडि नै सांगठनिक एकीकरण गराएर निर्वाचनमा जानु राम्रो हुन्छ ।’ अहिले दुवै संगठन मिलेर चुनाबी अभियानमा लागेको अध्यक्ष तामाङले बताए ।  

  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार ११:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया