काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिलेको जस्तै बागमतीको पानी पिउनसक्ने बनाउनुपर्ने बताएका छन् । शनिबार शहरी विकास मन्त्रालयको आयोजनामा बागमती सरसफाइ ३०० औँ हप्ताको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको जस्तै बागमतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताए । उनले बागमती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्नेमा जोड दिए ।
‘बागमतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’ उनले भने,‘जुन बहावले बागमती भएको फोहरमैलालाई बगाएर लैजान सकोस् ।’
कार्यक्रममा वन तथा वातावरणमन्त्री बस्नेतले बागमती सरसफाइ अभियानले मुलुकभरी नै सरसफाइ गर्नुपर्दछ भनेर प्रेरणा दिएको बताए । उनले बागमती सरसफाइ गर्नका लागि सरकारले स्पष्ट रणनीति ल्याउने तयारी गरिरहेको उल्लेख गरे ।
शहरी विकासमन्त्री राईले चारसय हप्ता नपुग्दै वाग्मतीको सरसफाइ गरिसक्नुपर्ने बताए । उनले सरकारको सहभागिताले मात्र नभइ समुदायको सहभागिताले मात्र सरसफाइ हुने भन्दै यसअभियानमा लाग्न सबैलाई आग्रह गरे ।
खानेपानी तथा सरसफाइमन्त्री मगरले अभियानले बागमती सरसफाइमात्र नगरेर सिङ्गो देशलाई नै सरसफाइ अभियानमा लाग्न सिकाएको बताए । ‘यस अभियानले राष्ट्र र जनतालाई सरसफाइ गर्न सिकाएको छ’ उनले भने, ‘यो बागमती सरसफाइ गर्ने अभियान मात्र नभएर राष्ट्र सरसफाइ गर्ने अभियान हो ।’
उनले अब बागमतीमा मिसिइने ढल प्रशोधन गरेर मात्र मिसिने व्यवस्था गर्न थालिएको बताए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले यस अभियान बागमती नदीमा मात्र सीमित नरहेर अन्य नदीमासमेत सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई दिएकाले सबै स्थानीय तहमा नदी सरसफाइ शुरु हुने बताए ।
कार्यक्रममा अधिकार सम्पन्न बागमती सम्पदा एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरे र बागमती सरसफाइ अभियन्ता डा.राजु अधिकारीले सरकार र समुदायको सहभागिताले सफलता प्राप्त गरेको बताए ।
‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने महाअभियानमा क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बागमती करिडोरमा बनेका ४४० वटा सोलार बत्तीको उद्घाटन गरे । वि.सं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए ।
बागमती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएको छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।
कार्यक्रममा सरसफाइ अभियानमा सहयोग पुर्याएको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।