आइसिसीले पठायो २१ खेलाडीको रोकिएको तलब

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ एक करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको राखेपले जनाएको छ । 

‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौँ । हिजो मात्र पैसा आएको छ,’ राखेप सदस्य सचिव केशव विष्टले भने । 

सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो । आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक ३५ हजार, ‘बी’ श्रेणीका लागि २५ हजार र सी श्रेष्णीका खेलाडीलाई १५ हजार मासिक तलब उपलब्ध गराएको छ । 

‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । दुई वर्षको तलब एक मुष्ठ लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही आठ लाख ४० हजार पाउनेछन् । 

त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ठ ६ लाख पाउनेछन् । 

यसैगरी, सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले दुई वर्षको तलबबापत तीन लाख रुपैयाँ पाउनेछन् । 



राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन् । 
 
क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखदेखि क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ । विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । 



  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार १५:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया