बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, ९ जना घाइते

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । 

मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । दुर्घटनामा परेर आठजना प्रहरी र एक चालक घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् ।  

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताउनुभयो । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

उपचाररत  नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकोप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 



प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे  । जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए ।  

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्कँदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको छ । 



रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ ।  

  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ११:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया