धरान– राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नवनिर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गरेकी हुन् ।
महायज्ञको उद्घाटन कार्यक्रममा उनले नेपालमा पहिलोपटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइन् । उनले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताइन् ।
‘यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधि आफैँ बनाउन सकिन्छ,’ राष्ट्रपति भण्डारीले भनिन् । उद्घाटनसँगै उनले यज्ञ मण्डपको पूजा अर्चना, अवलोकन गरेकी थिइन् ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताए । महायज्ञमा शुक्रबार नै भारतको अयोध्या र उत्तरकाशीलगायत स्थानबाट सात जना जगद्गुरु, पीठाधीश र महामण्डलेश्वर चतराधाम आएको आयोजनकले जनाएको छ । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन यज्ञ पूर्णाहुति फागुन ७ गते हुने जनाइएको छ ।
रामानन्द सेवापीठका पिठाधिस महायोगी डा. कृष्णदास महाराजका अनुसार हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए ।
यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा १०८ प्रकारका ‘साइकोन’ उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्दछ ।
डा. कृष्ण दासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलोपटक र विश्वमा ७ सय ५ वर्षपछि हुन लागेको हो । आयोजकले यहाँको हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको छ ।
हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्ड बनाइएका छन् । यही कुण्डमा एक हजार २ सय साधकले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोडपटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्नेछन् ।
उक्त महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौँ योगाचार्य र धार्मिक प्रवक्ताको सहभागिता हुने डा. दासले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।