युएईसँगको त्यो खेल, जसले पारसलाई ४०औँ वरीयताको अलराउन्डर बनायो

काठमाडौं– नेपाल युएईसँग पहिलो टी–२० सिरिजको अन्तिम खेल खेल्दै थियो । मुकाबला आयोजक युएईकै घरेलु मैदान आइसिसी एकेडेमीमा भइरहेको थियो । तीन खेलको सिरिजमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरीमा ल्याएको थियो । सिरिज हात पार्न अन्तिम खेल जित्नैपर्ने थियो । 

केही दिनअघि ओडिआई सिरिजमा पनि यस्तै अवस्थामा अन्तिम खेल जित्दै सिरिज कब्जा गरेकाले पनि नेपाली समर्थकको अपेक्षा थियो, टी–२० सिरिजमा नेपालले त्यस्तै जित दोहोर्याउनेछ । 

खेल सुरु हुने निर्धारित समय बित्यो, तर मौसमले खेल्न दिने छाँट देखाएन । वर्षाका कारण आइसिसीले तालिकाभन्दा दुई घण्टा ढिलो हुँदासमेत खेल सुरु गर्न सकेन । खेलाडीसँगै दर्शकको प्रतीक्षा व्यग्र थियो । 

पानी रोकिएपछि टस गरियो । नेपालले टस हारेर ब्याटिङ निम्तो पायो । 

खेल १० ओभरमा झारिएको थियो । पछिल्लो समय सुधारिएको ब्याटिङ गरेको नेपालले यसपटक पनि राम्रै गर्यो । १० ओभरमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रनको सानदार योगफल तयार गर्यो । आक्रामक ब्याटिङ गरेका कप्तान पारस खड्काले १४ बलमा ४ चौका र १ छक्का हान्दै सर्वाधिक २९ रन जोडे । 
१ सय ५ रनको विजय लक्ष्य पछ्याएर मैदान छिरेको युएईले पहिलो ओभरमै २० रन हिर्काएपछि भने नेपाल दबाबमा पर्यो । 

अत्यन्तै, समालिएर खेलेको नेपालले युएईलाई १० ओभरमा ९० रन मात्रै दियो, र खेल आफ्नो पक्षमा पार्यो । पहिलो टी–२० सिरिज जित्दा नेपाली टोलीले खेल मात्रै जितेन, धेरै नेपाली मन पनि जित्यो । यो सफलतामा कप्तान पारस खड्काको अलराउन्ड भूमिका अहम् रह्यो । त्यसैले उनलाई आइसिसीको वरीयतामा अहिलेसम्मकै माथिल्लो दर्जा दिलायो । 



आइसिसीले सोमबार प्रकाशन गरेको टी–२० क्रिकेटको वरीयतामा कप्तान पारस खड्का अलराउन्डरको ४०औँ स्थानमा उक्लिएका छन् । क्रिकेटको कुनै पनि विधामा नेपाली खेलाडी पुगेको यो सबैभन्दा माथिल्लो वरीयता हो । 

४०औँ स्थानमा रहेका खड्काले रेटिङ पोइन्ट ७६ पाएका छन् । ब्याटिङ वरीयतामा पनि ५ अंक सुधार गर्दै पारस ९०औँ स्थानमा उक्लिएका छन् । युएईसँगको सिरिजमा उनले तीन खेलमा ५४ रन बनाएका थिए । अहिलेसम्म १५ अन्तर्राष्ट्रिय टी–२० खेलेका खड्काले २ सय ९० रन जोडेका छन् । बलिङतर्फ भने उनले ३० ओभरमा २ विकेट हात पारेका छन् । 



पारस मात्रै होइन, आइसिसीको बलिङतर्फको वरीयतामा सोमपाल कामी ७०औँ र वसन्त रेग्मी ७१औँ स्थानमा परेका छन् ।

वरीयतामा २२ स्थान सुधार गर्दै फास्ट बलर सोमपाल ७०औँ स्थानमा आइपुगेका हुन् । पहिलो टी–२० सिरिजमा कामीले तीन खेलमा ४ विकेट लिएका थिए । १५ अन्तर्राष्ट्रिय टी–२० खेलेका कामीले अहिलेसम्म १७ विकेट लिएका छन् । 

३६ स्थान सुधार गरेका लेग स्पिनर सन्दीप लामिछाने भने १ सय ५९औँ वरीयतामा छन् । 

खेलाडी मात्रै नभई पहिलो सिरिज जितेको नेपाल टी–२० वरीयताको १४औँ स्थानमा उक्लिएको छ । आइसिसीको टी–२० वरीयतामा नेपालभन्दा तल युएई, हङकङ, ओमन र आयरल्यान्ड छन् । 

  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार २०:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया