गठबन्धनमा सरकार गठन प्रयासः प्रचण्डको प्रस्ताव आलोपालो प्रधानमन्त्री, पहिलो चरणमा आफ्नो नेतृत्व
फाइल तस्वीर ।

४ मंसिरमा भएको निर्वाचनको अन्तिम मत परिणाम आउन अझै केही समय लाग्ने निश्चित छ । यसबीचमा सत्ता गठबन्धनका घटक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अहिलेको गठबन्धनले नै अबको सरकार बनाउने अभिव्यक्ति दिइसकेका छन् । 

तर, सरकार कसरी बनाउने र कसले यसको नेतृत्व गर्ने भन्नेमा अहिले नै यी दलहरुबीच मतभेद देखिन थालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार आलोपालोको सरकार हुनु पर्ने बताएका छन् । उनले आलोपालो सरकार बनाउनु पर्ने र त्यसलाई आफूले पहिले नेतृत्व गर्न पाए सहमति बन्न सक्ने सन्देश नेपाली कांग्रेसलाई दिएका छन् । 

तर, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा यसलाई मान्न तयार छैनन् । उनी आलोपालोको सरकार भए पनि अबको सरकारको नेतृत्व पहिले नेपाली कांग्रेसले गर्न पाउनु पर्ने बताएका छन् ।

देउवाले गठबन्धनमा सरकार गठन तथा अन्य विषयमा प्याकेजमा डिल गर्न खोजेका छन् । उनको यही सन्देश लिएर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बिहीबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

प्रचण्डसँगको भेटपछि उनले सन्चारकर्मीहरुसँग सरकार गठनको विषयमा नै पछिल्ला भेटघाट केन्द्रित भएको बताएका छन् ।



नेपाली कांग्रेसले जस्तै नेकपा एकीकृत समाजवादीले पनि सरकार गठनको विषय मात्र भन्दा प्रदेश सरकारहरुसहित अन्य नियुक्तिलगायतका विषयमा ठोस प्रस्ताव र प्याकेजमा डिल गर्न सक्नु राम्रो हुने बताउन थालेको छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले आफ्नो निर्वाचन क्षेत्र रौतहटमा छन् ।



उनी काठमाडौं फर्किएपछि गठबन्धनका शीर्ष नेताको बैठक बस्ने तयारी गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई पनि आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनु पर्ने बताइसकेका छन् ।

आफूलाई बारम्बार प्रचण्डले फोन गरिरहेको र यस विषयमा छलफलका लागि आग्रह गर्न थालेको स्वयं माधवकुमार नेपालले बताउन थालेका छन् ।

नेपाललाई अगाडि सारेर भए पनि सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनु पर्ने मागमा प्रचण्ड अडिग रहने देखिएको छ ।

‘तर, पहिले निर्वाचनको समीक्षा गर्नुपर्छ, अहिले स्पष्ट देखिएको छ– यो निर्वाचनबाट कांग्रेस देशको पहिलो शक्ति बन्दैछ, त्यसैले स्वभाविक रुपमा नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्नेछ,’ नेपाली कांग्रेसका एक नेताले फरकधारलाई बताए, ‘यसमा र, तर, बट, इफ वा अरु कुराहरु हुँदैनन् ।’

तर, कांग्रेसमा सरकारको नेतृत्व कसले गर्ने भन्ने अहिले नै टुंगो लागिसकेको विषय नभएको पनि उनले बताएका छन् ।

नेपाली कांग्रेसमा पछिल्लो समय रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापालगायतले प्रधानमन्त्रीमा आफूलाई आकांक्षीका रुपमा उभ्याएका छन् ।

  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ७:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया