इरानले इजरायलका लागि जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको छ । त्यस्तै, अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाइएको छ ।
इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो ।
अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका सरकारी समाचार समिति इर्नाले जनाएको छ ।
इरान र इजराल क्षेत्रीय दुस्मन हुन् । इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ ।
मृत्युदण्ड दिइएका तथा लामो काराबासको सजाय पाएका मोसादका सदस्यले निजी तथा सार्वजनिक सम्पत्ति चोरेर नष्ट गरेका, व्यक्ति अपहरण गरेका, उनीहरूबाट हातहतियारसमेत बरामद गरिएको, तलबभत्ता किप्टो करेन्सीमा लिने गरेका इरानी अधिकारीहरूले बताए पनि कथित अपराधको कुनै प्रमाण सार्वजनिक गरेका छैनन् ।
मृत्युदण्ड दिइएकाहरूको नाम सार्वजनिक गरे पनि लामो काराबासको सजाय तोकिएका तीन जनाको परिचय पनि खुलाइएको छैन ।
इरानको रिभोलुस्नरी अदालतले नियमितरूपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष इरानले ३ सय १४ जनालाई मृत्युदण्ड दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।