गण्डकीमा एकीकृत समाजवादीले सांसद पायो, मनाङेलाई मन्त्री पक्का

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सोमबार एकीकृत समाजवादीमा प्रवेश गरे । मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद  उनलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर पार्टी प्रवेश गराए । 

पार्टी प्रवेश कार्यक्रममा मनाङेले एस पार्टीमा स्वच्छ छवि भएका नेता रहेकाले सोही पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिलेको बताए । मनाङेको पार्टी प्रवेशसँगै एकीकृत समाजवादी र उनी दुवैलाई फाइदा भएको छ । एसले संसदमा प्रतिनिधि पाएको छ भने मनाङेले मन्त्री पाउनेछन् । 

यस्तो छ उनको विगत

०७५ सालमा सांसदको सपथ लिनुअघि उनी जेलमा थिए । कर्तब्य ज्यान मुद्दामा दीपक मनाङे २०७४ को चुनावमा मनाङ (ख) बाट निर्वाचित भए । उनलाई तत्कालीन वाम गठबन्धनले सघाएको थियो । निर्वाचित भएपछि करिब ८ महिना जेल बसेर निस्किएका मनाङे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै प्रयोग गरेर संसद छिरे । सभामुख र मुख्यमन्त्रीले नचाहेको भए मनाङेले सपथ लिन समेत पाउने थिएनन् । शपथ लगत्तै उनी नेकपा प्रवेश गरे । 

०७३ सालमा राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष सर्वसम्मत चुनिएका दीपक मनाङे ०७४ को निर्वाचनसम्म स्वतन्त्र भइसकेका थिए । उनले सबै राजनीतिक पार्टीबाट सन्यास लिए । 

राप्रपा कमजोर हुँदै गएको मनाङमा पार्टीबाट चुनाव जित्ने सम्भावना नदेखेका उनले स्वतन्त्र बनेर एमालेको साथ पाए । राप्रपामा आबद्ध हुनुअघि मनाङे कांग्रेससँग निकट थिए । राप्रपा छाडेर केही समय संघीय समाजवादी नेपालसँग पनि आबद्ध भए । मनाङे सांसदमा निर्वाचित भएपछि पक्राउ परेका हुन् । 



नेकपा विभाजनको संकेत पाउनेबित्तिकै प्रदेशसभाको संसदीय दलमा नरहेको घोषणा गरे । केही समय उनी सरकारमा युवा तथा खेलकुदमन्त्री बने । गुरुङको सत्ता ढलेपछि मनाङे गठबन्धनतिर ढल्किए । उनले नै समर्थन गरेर गण्डकीमा नयाँ सरकार बन्यो । 

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा उनले मनाङ (ख) बाट पुनः उम्मेद्वारी दिए । उनका विरुद्धमा एमालेले जिल्ला सदस्यलाई उम्मेदवार बनाएको थियो । मनाङेले एमालेलाई फकाए, आफूलाई सर्वसम्मत निर्वाचित गराए । 



मनाङे कूटनीतिक छन् । राजनीतिको केन्द्रमा रहन उनले पार्टीलाई ढाल बनाइरहेका छन् । अहिले गण्डकीमा सत्ता गठबन्धनको बलियो बहुमत छ । कांग्रेस र माओवादी मिल्दा पनि सरकार बन्न सक्छ । त्यसो हुँदा स्वतन्त्र चुनाव जितेका मनाङे सरकारमा नअट्ने अवस्था छ । 

त्यसैले मनाङेले दिमाग लगाए, स्वतन्त्रबाट सरकारमा जान नपाउने बुझेपछि उनी सत्ता गठबन्धनकै दलमा प्रवेश गरे । त्यो पनि कमजोर पार्टी, एकीकृत समाजवादीमा । उनको प्रवेशले मनाङे र एकीकृत समाजवादी दुवैलाई फाइदा छ । उनी प्रवेश गरेसँगै गण्डकीमा एकीकृत समाजवादीले एक सांसद पाएको छ भने उनले मन्त्री पाउनेछन्। 

  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार २१:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया