पूरा भयो प्रतिनिधिसभाको हिसाबकिताब, कुन दलले कति सिट जिते ?

४ मंसिरमा भएको निर्वाचनको मत परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले यसको आधिकारिक घोषणा गर्न चाहिँ बाँकी छ ।

यो निर्वाचनमा नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रत्यक्षमा ५७ सिटमा जित निकालेको नेपाली कांंग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । योसँगै अबको प्रतिनिधि सभामा कांग्रेसबाट ८९ जना सांसद हुनेछन् ।

समानुपातिकमा सबैभन्दा बढी मत नेकपा एमालेले पाएको छ । नेकपा एमालेले समानुपातिकबाट ३४ जना सांसदलाई प्रतिनिधि सभामा प्रवेश गराउँदै छ । तर, उसले प्रत्यक्षमा नेपाली कांग्रेसको भन्दा १३ सिट कम जितेको छ । प्रत्यक्षमा नेकपा एमालेले ४४ सिटमा जित निकालेको छ ।

निर्वाचनबाट नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ । प्रत्यक्षमा १८ सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकमा १४ सिट जितेको छ । योसँगै अब नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद हुनेछन् ।

केही महिनाअघि मात्र गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी यो निर्वाचनबाट राष्ट्रिय पार्टी तथा संसदमा चौथो ठूलो दलका रुपमा उदाएको छ । प्रत्यक्षमा यो पार्टीले ७ सिटमा जित निकाल्दा समानुपातिकमा १३ सिटमा जित निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा अब २० जना सांसद हुनेछन् ।



राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो निर्वाचनमा उल्लेख्य सुधार गरेको देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैमा ७–७ सिटमा जित निकालेको छ । योसँगै अब राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद हुनेछन् ।

प्रतिनिधि सभामा राष्ट्रिय दलको हैसियतमा थप दुई पार्टी हुनेछन्– जनता समाजवादी पार्टी र जनमत पार्टी । जनता समाजवादी पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ भने समानुपातिकबाट उसका ५ जना सांसदले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नेछन् । त्यस्तै, जनमत पार्टीबाट अध्यक्ष सिके राउत प्रत्यक्षमा निर्वाचित भएका छन् भने यो पार्टीले समानुपातिकमा ५ सिटमा आफ्नो प्रतिनिधित्व गर्न पाउने भएको छ ।



माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । यो पार्टीबाट १० जनाले प्रत्यक्षमा निर्वाचनमा जित निकालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जनाले प्रत्यक्षमा जित निकालेका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट ३ जनाले प्रत्यक्षमा जित निकालेका छन् । राष्ट्रिय जनमोर्चा र नेमकिपाका १–१ जनाको प्रतिनिधित्व पनि संसदमा हुने भएको छ । 

यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पाँच जनाले पनि निर्वाचनमा जित दर्ज गरेका छन् । उनीहरुको पनि संसदमा उपस्थिति हुनेछ ।

  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १२:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया