राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मासु खान नपाइने

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १५ फागुनदेखि गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई पूर्ण शाकाहारी बनाउने भएको छ । 

मंगलबार पार्टीले वक्तव्य जारी गर्दै यस्तो जनाएको हो । वक्तव्यका अनुसार यो यात्राका लागि काठमाडौंबाट चार टोली जिल्लाहरुमा पठाइसकिएको छ । 

यो यात्राको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले ताप्लेजुङ सदरमुकाममा गर्नेछन् । हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्ने उद्देश्यका साथ यो यात्रा गर्न लागिएको राप्रपाले जनाएको छ । 

ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्ने र फागुन ३० गते यात्रा समापन गर्ने वक्तव्यमा जनाइएको छ । 

यात्रामा हरेक दिन बिहान धार्मिक अनुष्ठान गरिने र विभिन्न नदि तथा कुण्डको पानी संकलन गरिने र त्यसलाई काठमाडौंमा हुने कलश यात्रामा प्रयोग गरि पशुपतिनाथ मन्दिरमा अभिषेक गरिने राप्रपाले जनाएको छ । 

त्यस्तै, यो यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको पनि राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको नामबाट जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १२:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया