Wed, 16 Oct, 2019


सरकारको कामबाट जनता निराशः वरिष्ठ नेता पौडेल
फरकधार / माघ २९, २०७५

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दुईतिहाइको कम्युनिस्ट सरकारले चुस्त दुरुस्त रूपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।’ 



सरकारप्रति कडा रूपमा प्रस्तुत भएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गरे । उनले भने, ‘गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।’ प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए । 

अर्को एक प्रसंगमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताए । महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने ? भनेको भए पनि त्यो सम्भावना नरहेको बताए । 

नेता पौडेलले नेपाल विद्यार्थी संघको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताए । केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गरे । 

नेता पौडेलले राजीनामा दिएको केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दो ढंगबाट कोही–कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने बताए ।  


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्