भुक्तानी माग्दै मधेस प्रदेशको अर्थ मन्त्रालय घेराउ

उपभोक्ता समितिले भुक्तानी माग्दै मधेस प्रदेशको अर्थ मन्त्रालय घेराउ गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत अन्य मन्त्रालयका विभिन्न योजनाहरूको विकास निर्माणको काम गरे पनि भुक्तानी अहिलेसम्म नभएको भन्दै समितिले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेको हो ।  

काम गरेको महिनौँ बितिसक्दासमेत भुक्तानी नपाएकोले यथाशीघ्र आफूहरूको भुक्तानी हुनुपर्ने माग गर्दै समितिका पदाधिकारीहरूले नारा जुलुससहित प्रदर्शन गरेका छन् । धनुषाको धनौजी गाउँपालिकामा पिसिसि ढलानको काम गरेका सोनु निधिले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मन्त्रालय अन्तर्गतको चार दर्जन विकास निर्माणको काम गरेका उपभोक्ता समितिले काम सम्पन्न गरेको महिनौँ बितिसक्दा पनि भुक्तानी नपाएकोले आज बाध्य भएर मन्त्रालय घेराउ गरेको जानकारी दिए । 

उनले आफूहरूले काम सम्पन्न गरेको महिनौँ बितिसकेको अवस्थामा अब बैंकको व्याज तिर्नसमेत समस्या भइरहेपनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो सुनाए । बैंकको व्याज महिनाको ८० हजार तिर्नुपरेको उनले सुनाए । भुक्तानीको विषयमा प्रमुख सचिवले कुरा गर्नसमेत नमानेको उनले बताए । 

उनीहरुले मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो । यता, चुनावको कारणले केही महिना अगाडि देखि नै आचारसंहिता लागिसकेको अवस्थामा उपभोक्ता समितिको भुक्तानी गर्न नसकेको सम्बन्धित मन्त्रालयहरुले जानकारी दिएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ वटा योजनाको करोडौँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरूमा गरेको कामकाज पनि रहेको छ । अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिहरूको करिब १ अर्ब भुक्तानी गर्न बाँकी छ । 



यसअघि, आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता प्रहार गरेको थियो । 



  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २०:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया