विश्वकप फाइनल खेल्नुअघि फ्रान्सका तीन खेलाडीलाई ‘क्यामल फ्लु’ को लक्षण

कतारमा जारी फिफा विश्वकपको फाइनल खेल्नुअघि फ्रान्सका तीन खेलाडी बिरामी परेका छन् । फ्रेन्च टिमका एड्रियन राबियो, डायोट उपामेकानो र किङ्स्ले कोम्यान बिरामी परेका हुन् ।

उनीहरूलाई ‘क्यामल फ्लु’ को जस्तै लक्षण देखिएको बताइएको छ । खेलाडीहरूलाई फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प समस्यामा देखिएका छन् ।

‘अहिले फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मिहिनेत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ ।’ खेलाडीमा ज्वरी आउने, स्वास फेर्न गाह्रो महसुस हुने, खोकी लाग्ने जस्ता लक्षण देखिरहेका प्रशिक्षक देस्च्याम्पले बताएका छन् । लक्षण देखिएका खेलाडीलाई आइसोलेसनमा राखिएको छ ।

बिरामी भएकामध्ये उपामेकानो भने आइतबारसम्म ठीक हुने फ्रेन्च प्रशिक्षकले बताएका छन् । क्यामल फ्लु मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (एमइआरएस) को सामान्य नाम हो । यसलाई कोरोना भाइरसको कारणले हुने एक भाइरल रोगको रूपमा हेरिएको छ ।

फ्रान्सले आइतबार राति ८ः४५ बजे उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रोपटक विश्वकप जित्ने छ ।

चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलोपटक उपाधि रक्षा गर्ने अभियानमा छ । यदि आइतबार अर्जेन्टिनालाई हराउन सके फ्रान्सले समग्रमा तेस्रोपटक विश्वकप उपाधि हात पार्नेछ ।





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १०:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया