प्रतिनिधि सभाका नवनिर्वाचित २ सय ७४ सांसदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई आज दिउँसो ज्येष्ठ प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बुधबार) शपथ गराएकी थिइन् । सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमालका अनुसार २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेका छन् । बाँकी सांसदले भने नेपाली भाषामै शपथ ग्रहण गरेका सचिवालयले जनाएको छ ।
नेकपा (एमाले)का सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले तामाङमा र सांसद दुर्गा राईले कोई–कोयू मातृभाषामा शपथ ग्रहण गरेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव र रामसहाय प्रसाद यादवले भोजपुरी, रन्जुकुमारी झाले मैथिलीमा शपथ ग्रहण गरे ।
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले खस भाषा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अरुणकुमार चौधरी, रन्जिता श्रेष्ठ (चौधरी), गङ्गाराम चौधरी डगौराले थारू भाषामा शपथ ग्रहण गरेका छन् ।
स्वतन्त्र सांसदद्वय लालवीर चौधरीले थारू र किरणकुमार साहले संस्कृत भाषामा शपथ ग्रहण गरेका छन् । जनमत पार्टीका सांसदहरु विनीताकुमारी सिंह, चन्द्रकान्त राउत, अनितादेवीले मधेशी भाषा र सोनु मुर्मुले सन्याली भाषामा शपथ ग्रहण गरेका सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाल भाषा, मनीष झाले मैथिली, लक्ष्मी तिवारीले अवधि, अशोककुमार चौधरीले थारू र असीम शाहले नेपाली÷मुस्लिममा शपथ लिएका छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसदहरू मीना तामाङ र सूर्यमान तामाङ (दोङ)ले तामाङमा शपथग्रह गरेका छन् । माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका सांसद महिन्द्र राय यादवले हिन्दीमा, रूपा सो.सि. चौधरीले थारू र उमरावती देवी यादवले भोजपुरीमा शपथ लिएका सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।