प्रधानमन्त्री बन्ने प्रचण्डको आकांक्षाः ओलीको अभिव्यक्तिले थप संशयमा !
फाइल तस्वीर ।

सत्ता गठबन्धनको शनिबारको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट सन्देश दिए– अबको प्रधानमन्त्री म ।

यसमा उनले कुनै पुनर्विचार गर्न सकिने सम्भावना नै नरहेको बताउन थालेपछि फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकल्पमाथि काम गर्न सुरु गरिसकेका थिए । उनले सत्ता गठबन्धनमा खटपट आउने आभाससहित नेकपा एमालेसँग वार्तालाई अगाडि बढाए । त्यसका लागि उनले शनिबार नै विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पठाए ।

नेकपा एमालेसँगको पछिल्लो समयको वार्ताहरुका कारण प्रचण्डले गठबन्धनमा आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने मागलाई जोडतोडले उठाएका हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेर प्रधानमन्त्री बनाउँछ भन्ने अपेक्षा थियो । यसका लागि उनले नेकपा एमालेलाई प्रधानमन्त्रीबाहेकका अन्य पदहरु राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै दिने र प्रदेश सरकारहरुमा पनि एमालेलाई सहयोग गर्ने सन्देश दिएका थिए ।

उनको यो सन्देश लिएर पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष वर्षमान पुन एमालेसँगको वार्तामा केन्द्रित भएका छन् ।

पुनले यी वार्ता सकारात्मक भएको सन्देश ल्याएपछि प्रचण्डले सत्तारुढ गठबन्धनमा आफू नै अबको प्रधानमन्त्री हुन पाउनु पर्ने माग गर्दै सत्ता गठबन्धनको बैठकमा अडान कायम राखेका हुन् । 

उनको यही अडानका कारण शनिबारको सत्ता गठबन्धनको बैठकले कुनै निष्कर्ष निकालेन । यो बैठक फेरि आज (आइतबार) बस्दै छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको प्रधानमन्त्रीको दाबी गर्न संविधानको धारा ७६ (२)अनुसार आइतबारसम्मको समय दिएकी थिइन् ।



त्यसैले आइतबारसम्म प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गर्न चाहन्छन्, पुष्पकमल दाहाल प्रचण्ड ।

त्यसका लागि उनले नेकपा एमालेको साथ खोजेका छन् ।



अर्कोतिर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री बन्ने सपना अहिले पूरा नहुने र उनले यो चाहना अभिव्यक्त गर्दा ढिलो भइसकेको बताएका छन् ।

ओलीको यो अभिव्यक्तिले प्रधानमन्त्री बन्ने देउवाको चाहना थप समस्यामा परेको नेकपा माओवादी केन्द्रभित्र चर्चा सुरु भएको छ । 

गठबन्धनका दलहरुमा २ वर्ष कांग्रेस, २ वर्ष नेकपा माओवादी केन्द्र र १ वर्ष नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व चलाउने भन्ने विषयमा छलफल भएको छ । तर, यसमा नेकपा माओवादी केन्द्रले सुरुका दुई वर्षमा आफ्नो नेतृत्व खोजिरहेको छ ।

  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ५:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया