भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट एक महिनामा ९२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट यो महिना ९२ जनाको मृत्यु भएको छ । सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाको मृत्यु भएको हो ।

विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए । राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो । त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ । 

राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्नसक्ने सम्भावना छ । 

विगत छ वर्षमा विहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा छ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवं विहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतका चार राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र विहारमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवं सेवन रोकिएको छैन । 

यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट ७ सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि १ सय २० जनाले ज्यान गुमाएका थिए ।  





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १०:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया