नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते (शुक्रबार) बिहान ९ बजे मतदान हुने भएको हो । संसदीय दलको नेतामा तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।
जसमा प्रदेश १ का आन्तरिक तथा कानुनमन्त्रीसमेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन् ।
दलको नेतामा आकांक्षी देखिएका भीमप्रसाद पराजुलीले थापालाई समर्थन गरेका हुन् । थापा र पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहेका छन् ।
संस्थापन पक्षका अर्याललाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन् भने समर्थकमा सुनिताकुमारी गुरुङ रहेकी छन् ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्की डाक्टर शेखर कोइराला समूहका हुन् । उनको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई छन् ।
सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसकेको एक नेताले जानकारी दिए । उनले सहमति जुट्न नसके शुक्रबार बिहान ९ बजे मतदान हुने जानकारी दिए । कांग्रेस प्रदेश १ मा २९ जना सदस्यले मतदान गर्न पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।