के प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत नपाउने सम्भावना बढेको हो ?
फाइल तस्वीर ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने निर्णय गरिसकेका छन् । यसअघि २९ पुसमा उनले विश्वासको मत लिने बताए पनि ३ दिन अघि उनले विश्वासको मत लिने कार्यक्रम सारेका हुन् ।

यहीबीचमा उनले विश्वासको मत नपाउने अड्कलबाजीसमेत गर्न थालिएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको अड्कलबाजी पनि यहीबीचमा बाहिर आएका छन् । तर, कांग्रेसका नेताहरुले आफूहरुले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने शनिबार पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा कांग्रेसले अहिले च्याँखो थापेको र विभिन्न पार्टीका नेताहरुलाई बोलाएर प्रधानमन्त्रीको अफर गरेको दाबी गरेका थिए । 

ओलीले यो सरकारलाई आफूहरुको साथ र सहयोग रहने र यसलाई सफल बनाउन आफूहरुले काम गर्नेसमेत बताएका थिए । यहीबीचमा राप्रपासहित राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रचण्डलाई विश्वासको मत नदिओस् भनेर कांग्रेसले गृहकार्य सुरु गरेको बताइएको छ ।

यसले प्रश्न जन्माएको छ– के प्रचण्डले विश्वासको मत नपाउने सम्भावना बढेको हो ?

अहिले संसदमा भएका सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यस्तै, स्वतन्त्र तीन सांसदले पनि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थनन गरेका छन् ।



प्रचण्डलाई विश्वासको मतका लागि १३८ सांसदको साथ चाहिन्छ । उनी प्रधानमन्त्रीमा नियुक्त हुने समयमा १६६ सांसदको साथ रहेको पत्र लिएर राष्ट्रपति कार्यालय पुगेका थिए । त्यसैले सांसदमा १४ सिट भएको राप्रपा वा २० सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत नदिँदैमा प्रचण्डले विश्वासको मत पाउने सम्भावना सकिने होइन ।

तर, यी दुवै दल र सांसदमा रहेका अन्य दल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पनि प्रचण्डलाई विश्वासको मत नदिएको खण्डमा उनको प्रधानमन्त्री पद जोखिममा पर्ने देखिन्छ ।



कांग्रेसका केही नेताहरुले बनाएको खाकाअनुसार राजनीति अगाडि बढेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका ८९ र नेकपा माओवादी केन्द्रका ३२ जना सांसदको मत मात्र पाए उनले विश्वासको मत पाउने छैनन् । 

यसका लागि कांग्रेसले एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सबैको मत प्रचण्डविरुद्ध पार्नु पर्ने देखिन्छ । 

‘अहिलेका लागि यो सम्भव देखिएको छैन,’ नेपाली कांग्रेसका एक सांसदले फरकधारसँग भने, ‘राप्रपा र जसपालाई कांग्रेसले कन्भिन्स गर्न सकेको खण्डमा पनि प्रचण्डका लागि विश्वासको मत पुग्ने देखिन्छ । तर, एमाले छाडेर अरु सबै दललाई आफूतिर ल्याउनु अहिले कांग्रेसका लागि सहज होला भन्ने देखिँदैन ।’

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाइसकेकाले राष्ट्रिय स्वतन्त्र पार्टीले उनीविरुद्ध विश्वासको मत देला भन्ने अनुमान गर्न नसकिने कांग्रेसका ती नेताको विश्वास छ । त्यस्तै, राप्रपालाई पनि उपप्रधान तथा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रचण्डले दिने भन्ने समझदारी भइसकेकाले उनीहरुले पनि यो गठबन्धन छोड्ने कल्पना गर्न नसकिने ती नेताले बताए ।

प्रचण्डले त्यसैले २६ पुसमा विश्वासको मत पाउने सम्भावना अधिक देखिन्छ ।

 

  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १८:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया