पर्यटकीय व्यवस्थापन नहुँदा अस्तव्यस्त ‘जनकपुरधाम’

अव्यवस्थित व्यवस्थापनका कारण माता सीताको जन्मस्थल पवित्र भूमि जनकपुरधाम कुरुप बन्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई व्यवस्थित गर्न नसक्दा नगरक्षेत्र कुरुप बन्दै गएको हो । 

नगरको पिडारीचोकदेखि विमानस्थल चोकसम्म अव्यवस्थित बजार व्यवस्थापनका कारण नगरक्षेत्र कुरुप देखिन थालिएको छ । 
यही मार्ग हुँदै स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ पर्यटक जनकपुरधाम पुग्ने गर्दछन् । सडकछेउमै अव्यवस्थित व्यवस्थापनका कारण यहाँ आउने पर्यटकहरूको मानसिकतामा नकारात्मक प्रभाव परिरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

नगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणाअन्तर्गत नगरक्षेत्रलाई व्यवस्थापन गर्न सकिए जनकपुरधामको हकमा सबै दृष्टिकोणले फाइदाजनक साबित हुने यहाँका बुद्धिजिवीको भनाइ छ ।
 
जनकपुरधाममा नेपालका साथै छिमेकी मुलुक भारतको दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, सिमला, उत्तराखण्डलगायतका राज्यहरूबाट समेत दैनिक हजाराैँको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् ।

पर्यटकमा नकारात्मक प्रभाव

कबाडी सामान, बाटो छेउका अव्यवस्थित व्यवसायले प्रायः सबै सडकहरू कुरुप बनाएको छ । दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने जनकपुरधामस्थित जानकी मन्दिर छेउछाउमा अव्यवस्थित रुपमा रहेका पसलहरूले पर्यटक र व्यवसाय दुवैमा नकारात्मक प्रभाव परेको स्थानीय सुभाष कर्णले बताए ।
 
संस्कृतिविद् डा. राजेन्द्र विमलले पर्यटकलाई पवित्रभूमि जनकपुरधाम छिर्दा प्रदूषित वातावरणको सामना गर्नुपर्ने अवस्था रहेको बताए । गौरवशाली इतिहास बोकेको जनकपुरधामलाई व्यवस्थित गर्न सके अझ पर्यटकको संख्या बढ्ने सम्भावना रहेको उनको भनाइ छ । 

यस सम्बन्धमा स्थानीय डाक्टर अजय झाको छुट्टै धारणा छ । उनी भन्छन्, ‘अचेल जनकपुरधाममा जताततै ठूलो पर्यटकीय बसहरू पार्किङ गरिएको पाइन्छ । सडकको पेटिहरूमा दर्शनार्थीहरूले खाना पकाउँदै गरेको दृश्यहरूसमेत हेर्न पाइन्छ । यहाँ आउने पर्यटकहरूले आफ्नो खानाका सामग्री, ग्यासलगायत बोकेर आउने एवं स–साना कुटीहरूमा समय बिताउने गरेका छन् । पर्यटकीय व्यवस्थापन नहुँदा जताततै अस्तव्यस्त एवं फोहोरमैला मात्र भएको देखिन्छ । यसको व्यवस्थापनका लागि यहाँ कुनै निकाय नै नरहेको बुझिन्छ ।’



यस विषयमा उपमहानगरपालिकाको नेतृत्वलाई पटक–पटक सुझाब दिए पनि कार्यान्वयनमा कुनै चासो नदेखाएको उनको गुनासो छ ।
आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मेरुदण्ड मान्ने गरिएको छ । प्रशस्त धार्मिक पर्यटन क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले मधेस प्रदेशको राजधानी पनि जनकपुरधामनै रहेकाले पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

जनकपुरधामको कला, संस्कृति, भेषभूषा तथा मिथिला कलालाई जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारसम्म पुर्याउन सके पर्यटनका साथै अन्य व्यवसायसमेत फस्टाउनेमा दुईमत नरहेको स्थानीय बताउँछन् । 



जनकपुरधामका आकर्षक पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउन स्थानीय सरकार, प्रदेश सरकार र पर्यटन व्यवसायीबीच समन्वय आवश्यक देखिन्छ ।

पर्यटन विकास कार्यालय 

मधेस प्रदेश सरकारको गत साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न तीन स्थानमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । चालू आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने सरकारले जनाएको थियो ।

मन्त्रिपरिषद् बैठकले सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा १÷१ वटा गरी तीनवटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । ती कार्यालयहरू स्थापना भए पनि काम भने कुन गरिरहेको छ । त्यस सम्बन्धमा कसैलाई कुनै जानकारी छैन । 

यस सम्बन्धमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले लहान, जनकपुरधाम र वीरगञ्जमा पर्यटन विकास कार्यालय स्थापना भई कार्य सञ्चालन भइरहेको बताएका छन् । उनले ती कार्यालयहरूमार्फत सन्तोषजनक कामहरू भइरहेको दाबी गरेका छन् ।

 

 

  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १५:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया