धनुषामा मापदण्डविपरीत सञ्चालित पाँच क्रसर र बालुवा वासिङ उद्योगमा शिलबन्दी

धनुषामा मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ उद्योगमा शिलबन्दी गरिएको छ । संयुक्त अनुगमन समिति धनुषाले जिल्लाको मिथिला नगरपालिकामा सञ्चालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ उद्योगमा शिलबन्दी गरेको हो । 

महोत्तरीको बर्दिवास नगरपालिका–१ बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस–३ महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका–९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योगमा शिलबन्दी गरिएको छ । 

यस्तै सरपल्लो गाविस–४ महोत्तरी बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग, धनुषाको बेंगाडावर–६ बस्ने बिजय शर्माले मिथिला नगरपालिका–३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने शिवजी साह र वडा नम्बर–२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ उद्योगमा शिलबन्दी गरिएको अनुगमन टोलीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

क्रसर उद्योगहरुले नवीकरण नगराएको, नदीनालाको छेउमै उद्योग सञ्चालन गरेको, मानव वस्तीमा असर पारेको एवं बालुवा वासिङ उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित नगराएकोलगायत न्यूनतम मापदण्डसमेत पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए ।
 
आइतबार अनुगमन गरिएका पाँचवटै क्रसर तथा बालुवा वासिङ उद्योगहरु मापदण्डविपरीत सञ्चालनमा रहेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको उनले बताए ।
 
धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ उद्योग दर्ता भए पनि अधिकांश बालुवा वासिङ उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाको तथ्यांकले देखाएको छ । 

गृह मन्त्रालयले केही दिनअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्डविपरीत सञ्चालित क्रसर तथा बालुवा वासिङ उद्योगलाई कारबाही गर्न गरेको पत्राचारअनुसार अनुगमन समिति धनुषाले सक्रियता बढाएकाे हो ।





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १९:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया