काव्या अस्पतालको लापरबाहीले रिंकुको मृत्यु भएको आरोप, अस्पताल पक्षद्वारा उल्टै परिवारका सदस्यमाथि हातपात

धनुषाको जनकपुरधाम–२१ कुर्थाका अमित साह आफ्नी २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि नै सचेत थिए । रिंकुको सुत्केरीका बेला अपरेशन गरेर नै बच्चा निकाल्नुपर्छ भन्ने कुराको जानकारी पनि उनले चिकित्सकबाट पाइसकेका थिए । त्यसैले अमित सुरुदेखि नै सरकारी अस्पतालमा नगइ महिनैपिच्छे काव्या अस्पतालकी डा. सोनिया सिंहसँगै रिंकुको फलोअप जाँच गराउँदै आएका थिए । 

गत २५ मंसिरमा पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याए । त्यसबेला डाक्टर सिंहले औषधि दिँदा रिंकुलाई सन्चो भएको थियो । अमित र रिंकु जुम्ल्याहा बच्चा पाउने भन्दै हर्षित थिए । 

आइतबार रिंकुलाई सुत्केरी बेथा लागेपछि उनलाई बिहान करिब १० बजे काव्या अस्पताल लगियो । उनलाई अपरेसन गर्नुपर्छ भन्ने कुराको पूर्वजानकारी अमितलाई थियो । सोहीअनुरूप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अपरेशन रुममा लगिन् । उनको अपरेसन सफल भइ करिब साढे १ बजे जुम्ल्याहा बच्चाको जन्म भयो । 

अपरेसनपछि डा. सिंहले पनि अब सबै ठीक रहेको कुरा अमितलाई सुनाइन् । त्यसपछि अमितको खुसी झन् दोब्बर भयो । उनी खुसी हुँदै अस्पतालकी स्विपरसमेतलाई पैसा बाँडे । उनका परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । अमितको परिवारमा खुसीको सीमा थिएन ।

त्यतिकैमा उनीहरूको खुसीकै बीच एउटा दुःखद खबर आयो । अस्पतालले रिंकुलाई अपरेसनपछि अत्यधिक रक्तश्राव भइरहेकोले तुरुन्त रगतको व्यवस्था गर्न अमितलाई सुझायो । उनी पनि हतपत रगतको व्यवस्थामा जुटे । केहीबेरमै उनले चारपोका रगत अस्पताललाई उपलब्ध गराए । त्यतिबेलासम्म बिरामीसँग उनको परिवारका कुनै पनि सदस्यले भेटघाट गर्न पाएका थिएनन् । 

रगत उपलब्ध गराएको केहीबेरमै फेरि अमितलाई बोलाएर डा. सिंहले रिंकुको रक्तश्राव अझै नरोकिएकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिइन् । अमितले पनि अब दुईवटा बच्चा भइसकेकोले पाठेघर हटाउँदा केही फरक नपर्ने भन्दै पाठेघर हटाउने अनुमति दिए । डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरिन् । त्यसपछि अमितलाई बिरामीसँग भेट्ने अनुमति दिँदै उनी आफ्नो घर गइन् । 



अमितले रिंकुसँग भेट्न जाँदा उनलाई बिरामीको अवस्था खराब रहेको र उनी एनआइसियूमा रहेकोले भेट्न नपाउने भन्दै अस्पतालका कर्मचारीले प्रवेश नै गर्न दिएनन् । अमितको मनमा शंका उब्जियो ।

डाक्टरले विरामीसँग भेट्ने अनुमति दिए पनि अस्पतालका अन्य कर्मचारीले भेट्न नै नपाउने बताइरहँदा अमितले आफ्नो पत्नीको अवस्था कस्तो त्यो कुरा स्पष्ट थाहा पाउन अस्पताललाई दबाब दिए । त्यसको केहीबेरपछि अस्पतालका एक चिकित्सकले अमितलाई क्याबिनमा बोलाएर रिंकुको मृत्यु भइसकेको कुरा जानकारी गरायो । 



अमित छाँगाबाट खसेझैं भए । उनका एकछिनअघिका सबै खुसी दुःखमा परिणत भयो । अमिलाई चिकित्सकको कुरामाथि विश्वास नै लागेन । उनले अस्पतालको लापरबाहीले आफ्नो पत्नीको ज्यान गएको दाबी गरिरहे । डा. सिंहले अपरेसनकै बेला कुनै ठूलो गल्ती गरेर रिंकुलाई मारेको हुनसक्ने अमितको जिकिर छ । तर, उनको कुरा सुन्ने त्यहाँ कोही थिएनन् । 

रिंकुले डा. सिंहसँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । चिकित्सककै  सल्लाहबमोजिम आइतबार अस्पतालमा भर्ना भएको अमितले बताए । यसबीचमा पनि रिंकु चिकित्सक सिंहसँग नियमित सम्पर्कमा रहेको उनले बताए । 

मृतकका आफन्तले पनि अस्पताल भर्ना भएपछि बच्चालाई जन्मदिएको धेरै बेरपछि आमाको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।

रिंकु करिब आठ वर्षअघि डा. सिंहसँगै जनकपुरकै धनुषा अस्पतालमा कार्यरत थिइन् । यता, अस्पतालले महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेसन गरेर बच्चा निकालेपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ । मृतकका आफन्तले अस्पतालमा केही बेर प्रदर्शनसमेत गरेका छन् । तर, अस्पतालले रामानन्द चोकका प्रकाश मिश्राको नेतृत्वमा १०/१५ जनालाई बोलाएर परिवारजनमाथि नै हातपात गर्न लगाएको पीडित पक्षको आरोप छ ।

प्रकाशले अस्पतालमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिसरबाट बाहिर हटाएका थिए । मिश्राले सो क्रममा आफूसँग दुर्व्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए ।  घटनाका भिडियो फरकधारसँग सुरक्षित छन् ।

  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १२:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया