जनता समाजवादी पार्टी, (जसपा) नेपालका नेता सरोजकुमार यादवले आज मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवले आज सरकारको नेतृत्वमा दाबी पेस गर्ने तयारी गरिरहेका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको दिउँसो ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए । तर, त्यसको दुई दिन अगाडि नै यादवले नेकपा एमालेलगायत दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।
सत्तासाझेदार दलहरूको बैठकले मंगलबार बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज दिउँसो २ बजेसम्म प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष मुख्यमन्त्री नियुक्तिको लागि दावी पेस गरिने जसपा संसदीय दलका नेता यादवले बताए ।
उनले सत्तासाझेदार दलहरुसहित ६० जना सांसदको समर्थनमा दाबी पेस गर्न लागेको बताए । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एकजनासहित कुल ६० जना सांसदको समर्थन रहने नेता यादवले बताए ।
सत्तारुढ गठबन्धनको गत आइतबार बसेको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएको थियो । जसअनुसार मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने निर्णय गरिएको थियो । मधेस प्रदेशसभा सभामुख एमालेले पाउनेछ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीको शपथग्रहण २९ पुसमा हुने बताइएको छ । प्रदेश प्रमुख मिश्रले २८ पुसभित्र दुई वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।