भेनेजुएला संकटले विश्वभर तरंग

काठमाडौं– विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक स्रोत–साधनमा अत्यन्त धनी भए पनि सो मुलुक राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला संकट यसै कारणले सिर्जना हुन पुगेको बताउने गर्छन् । 

बाहिरी बहाना राजनीतिक कारण देखिए पनि त्यहाँको स्रोत साधनको उपयोगको चाहले अहिले मुख्य शक्तिराष्ट्रहरु ध्रुवीकृत हुन पुगेका बताइन्छ । उनै शक्तिराष्ट्रको प्रभावमा परेर अन्य देशहरु पनि पक्ष र विपक्षमा उभिएका छन् । भेनेजुएलाको पेट्रोलियम पदार्थमाथि कब्जा गर्ने नियतले भेनेजुएलाप्रति सबैभन्दा बढी अमेरिकाले आँखा गाडेको छ भने उसलाई निषेध गर्न चीन र रुस उभिएका छन् । 

चीन र रुससँग वैचारिक निकटता भएका शासकहरुले देशमा लगानीका लागि अमेरिकालाई निषेध गर्दै चीन र रुसलाई अगाडि बढाएपछि अमेरिका रुष्ट भएको छ । त्यही रिस पोख्न अमेरिकाले विपक्षी नेताहरुलाई निर्वाचन बहिष्कारदेखि अन्तरिम राष्ट्रपतिको स्वघोषणा गर्न लगाउनेसम्म गराएको धेरैको आरोप छ । अमेरिकाले लोकतान्त्रिक व्यवस्था नभएको आरोप लगाउने गरेको भेनेजुएलामा विश्वचर्चित समाजवादी नेता ह्युगो चाभेजको उदयसँगै बाह्य हस्तक्षेप बढेको देखिन्छ । 

सैनिक पृष्ठभूमिका पूर्वराष्ट्रपति ह्युगो चाभेजले सन् १९९२ मा सत्ता हत्याउन प्रयास गरे पनि त्यो सफल हुन सकेन र उनी दुई वर्ष जेल परे । त्यसपछि सन् १९९८ मा नयाँ समाजवादी संविधानको बाचासहित उनी राष्ट्रपतिमा निर्वाचित चए । चाभेज सत्तारोहण गर्दै गर्दा भेनेजुएला अहिलेकै जस्तो समस्याबाट ग्रसित थियो । भेनेजुएलाका सडक आन्दोलनकारीले भरिन्थे । आफ्नो कार्यकालमा उनले भेनेजुएलाको संविधान, भूमिसुधार, रोजगारी, गरिबी निवारण, छात्रवृत्तिको व्यवस्थालगायत धेरै क्षेत्रमा सुधारको थालनी गरेका थिए ।  

आफ्नो देशका प्राकृतिक स्रोतसा–धनलाई अमेरिकी बहुराष्ट्रिय कम्पनीबाट हटाएर उनले राष्ट्रियकरण गरे भने जनताका आधारभूत आवश्यकताको दायित्व राज्यले लिने व्यवस्था गरे । आफ्नो देशका कम्पनीलाई हटाएकाले उनको १४ वर्षे कार्यकालमा अमेरिकाले आर्थिक र राजनीतिक हस्तक्षेप गरिरह्यो । 

उनलाई अमेरिकी इसारामा गिरफ्तार गरिएको मानिने करिब ४७ घन्टे घटनाका बारेमा बनेको डकुमेन्ट्री अहिले पनि विश्वचर्चित छ । उनलाई गिरफ्तार गरेर सत्ताच्युत गराउने प्रयास चर्को जनदबाबपछि असफल भएको थियो । अनेक अवरोध र हस्तक्षेपका बाबजुद शासनमा सक्रिय रहेकै वेला ५८ वर्षको उमेरमा क्यान्सरका कारण सन् २०१३ मा चाभेजको निधन भयो । त्यसपछि निकोलास मदुरोले उनकै उत्तराधिकारीका रूपमा भेनेजुएलाको नेतृत्व गरिरहेका छन् । 



चाभेजकै उत्तराधिकारीको रूपमा मदुरोले सत्ता सम्हालेपछि पनि अन्तर्राष्ट्रिय समुदायको व्यवहार भने भेनेजुएलाप्रति अहिले पनि उस्तै नै छ । शक्तिराष्ट्रको हानथापका कारण बाह्य लगानी र व्यापारमा समस्या भएपछि भेनेजुएला लामो समयदेखि आर्थिक संकटमा छ । यतिसम्म कि त्यहाँका महिलाहरू आफ्ना आवश्यकता पूरा गर्नका लागि आफ्नो लामो कपाल समेत बेच्न बाध्य हुने गरेको चर्चा छ । 

खाद्यपदार्थलगायत अत्यावश्यक वस्तुदेखि औषधिसम्मको अभाव भएकाले भोक र रोगले मृत्युवरण गर्नेहरुको संख्या बढ्दो छ । संकट बढ्दै गएपछि लाखौँ नागरिक विस्थापित भएका छन् । गत वर्ष मात्रै मदुरोले देशको मुद्रा परिवर्तन गरेपछि महँगी अझ बढेको छ । सन् २०१५ मा कूल गार्हस्थ उत्पादन ६ प्रतिशतले घटेकोमा २०१६ मा १६ प्रतिशतले र २०१७ तथा २०१८ मा १४ प्रतिशतले घटेको विश्व वैंकले देखाएको छ । 



चौतर्फी संकट बढेपछि राष्ट्रपति मदुरोले रुस र चीनसँग ऋणका लागि याचना गरेका छन् । भेनेजुएलाको अहिलेको आर्थिक संकटलाई विपक्षीहरुले राजनीतिक कारणले उत्पन्न भएको दाबी गर्छन् भने मदुरोका समर्थकले यसलाई अस्वीकार गरेका छन् । मदुरो नेतृत्वको सरकार नै यो संकटको कारक भएको ठान्नेहरु सरकार विरोधी आन्दोलनमा छन् भने उनीहरूलाई अमेरिकाले परिचालन गरेको दाबी गर्दै सरकार भने दबाउने प्रयासमा छ । जसका कारण जनताले राजनीतिक र आर्थिक दुवै संकट भोगिरहनुपरेको छ । 

आर्थिक कारणले सृजित रोग र भोकले मृत्यु हुनेहरुको एकिन तथ्यांक आउन सकेको छैन भने पछिल्लो राजनीतिक संघर्षका क्रममा कम्तीमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको विवरणहरु सार्वजनिक भएका छन् । 

विपक्षीले बहिस्कार गरेको केही महिनाअघि भएको निर्वाचनबाट मदुरो दोस्रो कार्यकालका लागि निर्वाचित भएको भन्दै पदबहाली गरेपछि राजनीतिक संघर्ष बढेको हो । विपक्षीहरुले आफूहरुले बहिस्कार गरेको निर्वाचन अवैध रहेको र अवैध निर्वाचनबाट निर्वाचित भनिएका मदुरो बैध हुन नसक्ने भन्दै मदुरोलाई राष्ट्रपति मान्न तयार भएका छैनन् । 

राष्ट्रपति नभएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्षले कार्यबाहक राष्ट्रपति बन्ने भेनेजुएलाको संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर राष्ट्रिय सभाका अध्यक्ष ३५ वर्षीय हुवाँ गुएइदोले केही दिनअघि आफूलाई अन्तरिम तथा कार्यबाहक राष्ट्रपति घोषणा गरेका थिए । 

उनको घोषणाले राजनीतिक संघर्षलाई थप चर्काएको छ । गुएइदोको घोषणालाई अमेरिका, बेलायत, फ्रान्स, ब्राजिल, क्यानडा, अर्जेन्टिना, अष्ट्रेलिया, कोलम्बियासहित दर्जनबढी देश र युरोपेली संघका देशहरुले समर्थन गरेका छन् । तर रुस, चीन, मेक्सिको, क्युबा, बोलिभिया, इरानलगायतका देशले भने गुएइदोको घोषणालाई अवैधानिक भएको दाबी गर्दै मदुरोलाई नै आधिकारीक राष्ट्रपति मानेका छन् । भेनेजुएलाको सरकारी सेना, सर्वोच्च अदालतलगायतका मुलुक भित्रका अधिकांश आधिकारीक संस्थाहरुले पनि ५६ वर्षीय मदुरोकै पक्ष लिएका छन् । 

नेताको नियत ठीक भए पनि नीति खराब भयो भने देश कसरी संकटमा फस्दै जान्छ भन्ने उदाहारणको रुपमा पनि भेनेजुएलाको नीतिलाई लिइन्छ । तत्कालीन राष्ट्रपति चाभेजले तेलको निकासी व्यापारवाट आएको आम्दानीले नै समाजवाद निर्माण गर्ने कोसिस गरेको बताइन्थ्यो । 

उनले देशको औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदिमार्फत अन्य आन्तरिक आर्थिक उपार्जनतर्फ ध्यान दिएनन् । तेलको आम्दानीमा मात्रै निर्भर अर्थतन्त्रले गर्दा तेलको मूल्य बढ्ने गर्दा सरकारको आय पनि बढ्ने र तेलको मूल्य घट्दा सरकारको आय घट्ने, तर व्ययभार घटाउन नसक्ने हुँदा अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न भयो । 

एकातिर औद्योगिक र अन्य आर्थिक क्षेत्रमा क्रान्ति गर्न नसक्दा अर्थतन्त्र असन्तुलित हुन थाल्यो भने अर्कातिर सत्ता र पार्टीभित्र भ्रष्टाचार व्यापक रुपमा मौलाउन थाल्यो । चाभेजले राष्ट्रियकरण गरेका व्यवसायहरुमा शासक निकटस्थहरुको रजाइँ भयो । 

समाजवादउन्मुख केही कार्यक्रमहरु लागू गरिए पनि नयाँ तरिकाले सरकार, पार्टी, सत्ताका अरु अंगहरु र सरकारी अर्थतन्त्रमा व्यक्तिगत स्वार्थीहरुको नियन्त्रण बढ्दै गयो । तर, ती स्वार्थीहरुलाई परास्त गर्ने क्षमता पार्टी र सरकारको नेतृत्वले देखाउन सकेन । परिणामस्वरुप भेनेजुएलाको अर्थतन्त्र झन् भन्दा झन् धरासायी बन्दै गयो र जनतामा आक्रोश बढ्यो । 

त्यही आक्रोशलाई उपयोग गर्दै वैदेशिक र विपक्षी शक्तिहरुले टाउको उठाउने ठाउँ पाए । अर्थतन्त्र धराशायी हुँदै गएको र जनअसन्तोष चर्केको मौका छोपेर संसद्मा बहुमत भएका संसद्का अध्यक्ष तथा विपक्षी नेता गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गर्ने आँट गरेका हुन् । 

सन् २०१५ मा चुनावबाट बनेको संसद्मा कुल १ सय ६७ सिटमध्ये विपक्षी गठबन्धनका १ सय १२ र मदुरोको गठवन्धनका ५५ जना सदस्य रहेका छन् । विपक्षी नेता गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गराए पनि वैधानिक सत्तामा पुग्न भने सजिलो छैन । सत्ता प्रवेशका लागि न्यूनतम केही प्रक्रिया पूरा गर्नैपर्छ । 

उनले आफूलाई राष्ट्रपति घोषणा गराएपछि मुलुक थप अनिश्चितता र द्वन्द्वतर्फ धकेलिएको छ । यस्तो अवस्थामा सरकारले बन्दुकको बल र विपक्षीले विदेशीको बल बढाउँदै लैजाँदा मर्कामा पर्ने आमनागरिक नै हुन् । विश्वमा शक्ति राष्ट्रको इशारामा सत्ता परिवर्तन भएका थुप्रै उदाहरण त छन्, तर त्यो दिगो र फलदायी भएको भने कमै छ । 

त्यसैले देशलाई विदेशी खेल्ने मैदान बनाएर मुलुकमा स्थिरता होइन, अधोगतिको यात्रा सुरु हुन्छ भने नेताहरुको आफ्नै भविष्य र जीवन पनि खतरामा पर्छ । देशको समस्या समाधानका लागि जनतालाई छाना र खाना, रोगीलाई औषधिको तत्काल व्यवस्था गरी देशी तथा विदेशी स्वार्थीको प्रभाव र लोभमा नपरी समझदारीमा जानु नै भलो देखिन्छ । 

  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १४:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया