\
मधेश प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले गत ५ वर्षमा गरेका कामको समीक्षा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कार्यालयमा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट गत ५ वर्षभित्र प्रदेश सरकारले गरेका कामको मूल्यांकन तथा समीक्षा गर्ने निर्णय गरिएको बिनाविभागीय मन्त्री वसन्त कुश्वाहाले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले गरेका कामको मूल्यांकन तथा समीक्षासहितको रिपोर्ट तयार पार्नका लागि उच्चस्तरीय कमिटीसमेत गठन गरिएको छ । सो कमिटीलाई रिपोर्ट तयार पार्नका लागि १५ दिनको समय दिइएको मन्त्री कुश्वाहाले जानकारी दिए ।
साथै मधेशमा शीतलहरको समय रहेकाले प्रत्येक पालिकालाई दाउरा वितरण गर्ने निर्णयसमेत गरिएको छ । गरिब तथा विपन्न वर्गलाई जाडो छल्नका लागि १३६ वटै पालिकालाई दाउरा वितरण गर्ने निर्णय गरिएको हो ।
त्यस्तै, मधेश सरकार मातहत रहेका प्रत्येक सरकारी कार्यालयमा गुनासो पेटिका राख्ने निर्णयसमेत गरिएको छ । सो पेटिकामा संकलन भएका गुनासा प्रत्येक दिन मुख्यमन्त्री कार्यालयमा पुर्याइने मन्त्री कुश्वाहाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।