नेप्सेले शतप्रतिशत नगद लाभांश बाँड्ने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१ औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी रू एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

‘आज सकिएको नेप्सेको ४१ औँ साधारणसभाले शतप्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित पारित गरेको छ,’ कम्पनी सचिव मुराहरि पराजुलीले भने । अघिल्लो आर्थिक वर्ष नेप्सेले ६० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिएको थियो । 

गत आर्थिक वर्ष २०७८/०७९ मा नेप्सेको खुद नाफा रू एक अर्ब १७ करोड ८१ लाख बराबर देखिएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६ दशमलव ४२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेप्सेले रू एक अर्ब ४० करोड ९६ लाख बराबर खुद नाफा कमाएको थियो । 

नेप्सेमा सबैभन्दा धेरै सरकारको लगानी छ । नेप्सेमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैङ्कको १४ दशमलव ६० प्रतिशत र कर्मचारी सञ्चय कोषको १० प्रतिशत लगानी रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको ६ दशमलव १४ प्रतिशत, लक्ष्मी बैङ्कको पाँच प्रतिशत, प्रभु बैङ्कको पाँच प्रतिशत र सेयर ब्रोकर कम्पनीको शून्य दशमलव ६० प्रतिशत लगानी रहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड नेप्सेको पूर्णस्वामित्व रहेको सहायक कम्पनी हो । त्यस्तै, नागरिक लगानी कोषमा नेप्सको १० प्रतिशत लगानी रहेको छ । बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, नबिल बैङ्क र युनाइटेड इन्स्योरेन्स कम्पनीमा पनि नेप्सेले लगानी गरेको छ ।



साधारणसभामा पेस भएको वार्षिक प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैङ्कले विद्यमान कानुनी व्यवस्था उल्लङ्घन हुने गरी नेप्सेमा लगानी गरेको उल्लेख छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ७ बमोजिम नेपाल राष्ट्र बैङ्कले आफ्नो काम कारबाही र दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कूल पूँजीको १० प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको सेयर स्वामित्व प्राप्त गर्नसक्ने व्यवस्था छ ।  



  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार २१:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया