नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हो ।
कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर विशेष कारणवश बैठक स्थगित गर्नुपरेकाे जानकारी दिएका छन् । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।
यसअघि पुस २२ का लागि डाकिएको बैठक सुरुमा पुस २८ मा सारिएको थियो । पुनः बैठक माघ १५ का लागि सारिएको थियो । तर, माघ १५ गतेको बैठक पनि स्थगित भएकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीति र निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक डाकेका थिए। सत्ताबाट बाहिरिएपछि पार्टीभित्रै आलोचित बनेका देउवाले बैठक पटकपटक सार्दै आएका छन् ।
केन्द्रीय समितिको बैठक सर्दै आए पनि सभापति देउवाले केही महत्वपूर्ण निर्णय लिनुपर्दा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भने राख्दै आएका छन्।
पार्टी सभापति देउवा केन्द्रीय समितिको बैठकभन्दा पनि राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको उनीनिकट नेताहरुले बताउँदै आएका छन् ।
कांग्रेसले आफ्नै नेतृत्वमा निर्वाचन सम्पन्न गरेर पहिलाे दल बने पनि राजनीतिक सुझबुझ पुर्याउन नसकेकाे भन्दै पार्टी सभापति देउवाकाे आलाेचना हुँदै आएकाे छ ।
देउवा आन्तरिक रूपमा निरंकुश बन्दै गएकाे, तर बाह्य राजनीतिक समीकरणमा असफल भएकाे संस्थापनइतर पक्षले आराेप लगाउँदै आएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।