चार दिन नबित्दै गृहले उल्ट्यायो आफ्नै निर्णय, हाजिर गर्न नपाई सिडिओको सरुवा बदर

गृह मन्त्रालयले गोरखा पठाइएका प्रमुख जिल्ला अधिकारीको सरुवा बदर गरेको छ । गृहले माघ ६ गते गोरखासहित देशभरका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो। 

त्यसक्रममा गोरखामा सिराहाका लालबाबु कवारीलाई सरुवा गरिएको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई कपिलवस्तु पठाएर त्यहाँ कवारीलाई सरुवा गरिएको थियो।

तर, गोरखा पठाइएका कवारीलाई गृह मन्त्रालयले बुधबार पत्र दिएर नजान भनेको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले तत्काललाई गोरखामा अर्को प्रजिअ पठाउने निर्णय भइनसकेको बताएका छन् । 

गोरखाबाट सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर काम थालिसकेका छन्। गोरखा अहिले प्रजिअविहीन छ। त्यहाँबाट सहायक प्रजिअ चित्रांगत बरालको पनि पर्वत सरुवा भएको छ। अब आउने भनिएका सहायक प्रजिअमा पुष्कर राना पनि आइसकेका छैनन्। 

कवारी अहिले पनि जिल्ला प्रशासन कार्यालय सिराहमै छन्। कवारीले आफू गोरखा जान तयार भइरहेका बेला नजान भनेर पत्र आएको बताएका छन्। तर किन नजान भनिएको कारणबारे आफूलाई थाहा नभएको उनको भनाइ छ । 

गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्रसमेत हो । गृहकै निर्णयमा गोरखामा सरुवा भएका प्रजिअ कवारीको राजनीतिक दबाबले नै सरुवा रोकिएको अनुमान छ।



गृहमन्त्री लामिछानेले माघ ४ गते प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा सरुवा र कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि जारी गरेका थिए। 

उनले त्यसबेला कर्मचारीहरुको सरुवा नियमसंगत हुने बताएका थिए। मन्त्रालयले आफ्नै निर्णय चार दिन नबित्दै उल्ट्याएपछि गृहमन्त्री लामिछानेको प्रतिबद्धतामा पनि प्रश्न उठेको छ। 



  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार २१:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया