भारतीय जनता पार्टी (भाजपा)ले अन्तर्राष्ट्रिय सञ्चारसंस्था बिबिसीलाई ‘विश्वकै सबैभन्दा भ्रष्ट’ संस्था भएको आरोप लगाएको छ । भारतीय कांग्रेस र बिबिसीको एजेन्डा एउटै रहेको भाजपाको आरोप छ ।
भारतीय आयकर विभागले मंगलबार नयाँ दिल्ली र मुम्बईमा रहेका बिबिसीका कार्यालयमा छापा हानेको थियो । सोलगत्तै पत्रकार सम्मेलन गरेर भाजपाका प्रवक्ता गौरव भाटियाले आयकर विभागले नियमअनुसार बिबिसीबारे अनुसन्धान जारी रहेको बताए ।
आयकर विभागलाई विनाअवरोध काम गर्न दिनुपर्ने बताउँदै उनले भारत संविधान र कानुनअनुसार चल्ने र यहाँ सबैले काम गर्न पाउने दाबी गरे ।
यता, कांग्रेससहितका विपक्षी दलले भने सरकारको कदमको आलोचना गर्दै उक्त कदम अलोकतान्त्रिक र तानाशाही भएको टिप्पणी गरेका छन् ।
एक महिनाअघि बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा गुजरातमा भएको दंगाबारे डकुमेन्ट्री प्रसारण गरेको थियो ।
भारत सरकारले उक्त डकुमेन्ट्री प्रसारणमा रोक लगाएको छ । त्यसको केही हप्तापछि आयकर विभागले बिबिसीको कार्यालयमा छापा हानेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।