भूमि अधिकार मञ्च रसुवामा नयाँ नेतृत्व

रसुवा– जिल्ला भूमि अधिकार मञ्च रसुवाले चौथो जिल्ला सम्मेलनबाट संस्थापकमध्येका एक हेमनाथ खतिवडाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । खतिवडा यसअघि तदर्थ समितिका सदस्य, सहसचिव, दुई कार्यकाल सचिव हुँदै अध्यक्ष भएका हुन् । सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा भएको थियो ।

मञ्चको नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः टंकलबहादुर नगरकोटी, सुष्मा न्यौपाने, भुवनेश्वरी लामिछाने र गोपिनी परियार चयन भएका छन् । सदस्यहरूमा पुतली तामाङ, शान्ताकुमारी गलान, खिलप्रसाद आचार्य, खडकमाया न्यौपाने, मुरली नेपाली, कार्साङतेम्पा तामाङ, रमा भट्ट, श्याममाया घलेनी र मोहनप्रसाद ढकाल छन् । 

सम्मेलनको उद्घाटन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालकी केन्द्रीय महासचिव सरस्वती सुब्बालगायतले गरेका थिए । सम्मेलनमा मञ्चको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुतीकरण गरी त्यसमा छलफलपश्चात् पारित गरिएको छ । 

मञ्चकी केन्द्रीय महासचिव सरस्वती सुब्बाले भूमि अधिकारबाट वञ्चित लाखौँ परिवारले भूमि अधिकार अभियानसँग ठूलो आशा राखेको बताइन् । 
    
‘गाउँ तहदेखि नै संगठनहरू बलियो बनाएर भूमि अधिकार प्राप्तिकोे आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले विभिन्न कानुन तथा ऐनहरू निर्माण भइरहेको छ, यस सन्दर्भमा विभिन्न सरोकारवाला निकायमार्फत राज्यलाई दबाब दिनु आवश्यक छ ।’  

कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले मञ्चले जिल्लामा भूमिहीन, बिर्ता तथा गुठीपीडित किसान र भूकम्पपीडित परिवारका लागि काम गर्दे आएको बताए । 

रसुवामा रहेको बिर्ता, गुठी, भूमिहीन सुकुमबासी र विस्थापित परिवारका लागि राज्यसँग वकालतीय अभियान सो मञ्चले गरिरहेको छ । 



मञ्चमा २२ गाउँ भूमि अधिकार मञ्चमार्फत ६ सय ११ परिवार संगठित भएका छन् । मञ्चको अभियानको सफलतास्वरूप १ सय ७० परिवार बिर्तापीडित किसानले १५ सय रोपनी बिर्ता जग्गाको लालपुर्जा लिएका छन् । यसबाट ५ सय बढी परिवार लाभान्वित भएका छन् । 

१ सय ३२ गुठीपीडित परिवारले मोही लालपुर्जा लिएका छन्, यसले उनीहरूले आफ्नो जोतभोग र बसोवास गर्दै आइरहेको जमिनको स्वामित्व लिनको लागि सहज हुनेछ । 



मञ्चले आफ्नै भूमिघर निर्माण गरी कार्यालय सञ्चालन गरिरहेको छ भने भूमिघरमा तालिम केन्द्र पनि सञ्चालन गरी यसमार्फत आन्दोलन कोष वृद्धि गर्न सहयोग पुगिरहेको छ । 

 भूमि अधिकार मञ्चले संयुक्त लालपुर्जा निर्माणको अभियान पनि अघि बढाई जिल्लामा हालसम्म ६ सय बढी परिवारले संयुक्त लालपुर्जा निर्माण गरी भूमिमा महिला र पुरुषको समान स्वामित्व कायम गराएका छन् । 

यस्तै, पछिल्लो समयमा मञ्चले भूकम्पपीडित परिवार, भूमिहीन परिवार र विस्थापित परिवारको पनि पुनर्निर्माणको अभियानमार्फत पुनर्निर्माण र पुनस्र्थापनामा अभियानको लागि वकालतीय अभियानमार्फत समस्यामा परेका परिवारलाई सहयोग गर्नको लागि अभियान गरिरहेको छ ।   

जिल्ला भूमि अधिकार मञ्चको यस अवधिमा ४६ लाख ९६ हजार ११२ रुपैयाँको कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । हाल मञ्चको कोषमा १५ लाख ८३ हजार ३ सय ६९ रुपैयाँ रहेको बताइएको छ । 

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १५:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया