‘कर्मचारी समायोजन विधेयक, २०७५’ राष्ट्रिय सभाबाट पारित

काठमाडौं– राष्ट्रियसभाले  ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ। उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको थियो ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । 

त्यस्तै ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।  

बैठकमा ती दुवै प्रस्तावलाई कानुनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गरेका थिए । बैठकको सुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५’ र ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’लाई टेबुल गरेका थिए।  

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५’ तथा प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’का सम्बन्धमा समितिका प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका थिए । 

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न २ः३० बजे बस्नेछ ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १६:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया