सामुदायिक विद्यालयका विद्यार्थीकाे गुनासाे : शिक्षकलाई मन लागे पढाउँछन्, नत्र छुट्टि भन्दै घर पठाउँछन्

मधेस प्रदेशका एकाधबाहेक अधिकांश सामुदायिक विद्यालयहरुको बेथिति कसैबाट लुकेको छैन । पर्याप्त दक्ष जनशक्ति हुँदाहुँदै कतिपय सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी हुन नसकेको व्यापक जनगुनासो छ । कतिपय विद्यालयमा शिक्षक अभावले विद्यार्थीले पढ्न पाएका छैनन् भने कतिपय विद्यालयमा शिक्षक पर्याप्त छन् । तर, पढाइ हुँदैन ।
 
विद्यालय भनेपछि त्यहाँ पढ्ने विद्यार्थी र पढाउने शिक्षक छन् भन्ने बुझिन्छ । तर, धनुषाका यस्ता पनि सामुदायिक विद्यालयहरु छन् जहाँ शिक्षक अफिसमा बसेर आपसमा गफ गर्छन् भने विद्यार्थीहरु कक्षामा शिक्षक बस्ने कुर्सीमै बसेर मनोरञ्जन गर्छन् । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–२ सिनुरजोडास्थित जनजाती राष्ट्रिय प्राथमिक विद्यालयको रजिष्टरमा २४० जना विद्यार्थीहरु अध्ययन गरिरहेको देखिएपनि त्यहाँ दैनिक ५० जना विद्यार्थी पनि उपस्थित हुँदैनन् । यस विद्यालयमा प्रधानाध्यापकलगायत ५ जना शिक्षक कार्यरत छन् ।

विद्यालयको रजिष्टरमा २४० जना विद्यार्थी अध्यनरत रहेको तथ्यांक रहेपनि विद्यार्थीको हाजिरी रजिष्टर देख्दा दैनिक ५० भन्दा बढि विद्यार्थीको उपस्थिती देखिँदैन । 

बुधबार दिउँसो करिब १ बजे विद्यालयमा पुग्दा शिक्षकहरु अफिसमा बसेर आपसमा गफ गरिरहँदा विद्यार्थीहरु भने कक्षाकोठामा शिक्षक बस्ने कुर्सीमै बसेर खेलिरहेका थिए । यस विषयमा विद्यालयका प्रधानाध्यापक उपेन्द्र यादवसँग तपाईंको विद्यालयको यस्तो अवस्था किन छ भनेर सोध्दा उनले विद्यार्थी संख्या न्यून रहेकोले शिक्षकलाई पनि पढाउन अप्ठ्यारो भइरहेको सुनाए । 

विद्यालयको शिक्षकको नामाबलीमा प्रधानाध्यापक उपेन्द्र यादव, राहतका शिक्षकहरु देवसुन्दर यादव, रिना पाण्डे र सुनिल यादव तथा बालविकासमा किरण यादवको नाम उल्लेख थियो ।



विद्यालयमा विद्यार्थी आउँछन् कि आउँदैनन् भन्ने जिज्ञासामा प्रधानाध्यापक यादवले भने, ‘विद्यार्थी नै आउँदैनन् । मैले पटक पटक व्यवस्थापन समिति र अभिभावकहरुलाई भेटेर गुनासो गरे । तर कसैले वास्ता गरेनन् । सहयोग पनि गरेनन् ।’ 

वडा नम्बर–२ सिनुरजोडा दलित बस्ती भएकोले यस विद्यालयमा विद्यार्थीहरु आउन नमानिरहेको उनको दुःखेसो छ । 



यता, पढाइ नहुँदा आफ्नो विद्यार्थीलाई बाध्यताले अर्को विद्यालयमा पठाउनु परेको स्थानीयको भनाइ छ । स्थानीयबासी भने शिक्षक र राजनीतिकर्मीमाथि आक्रोशित छन् । विद्यालयमा राजनीति बढी हुन थालेपछि स्थानीयले आ–आफ्ना बालबालिकालाई अर्कै विद्यालयमा पठाउन थालेको बताउँछन् ।

‘शिक्षकलाई राजनीति गर्नबाट फुर्सद छैन, पढाउँदैनन् । कसले आफ्नो छोराछोरी र बालबालिकाको भविष्य बिगार्छन् ? त्यसैले हामी बालबालिकालाई अर्को विद्यालयमा पठाउँछौं,’ स्थानीय रामस्नेही यादवले अक्रोस पोख्दै भने । 

यस विद्यालयलाई हेरबिचार गर्ने सम्बन्धीत निकाय कोहि नहुँदा शिक्षकहरुको बसीबसी तलब खाने थलो बनाएको उनको गुनासो छ । विद्यालय अहिले स्थानीय जनप्रतिनिधिको निगरानीमा छ । तर, त्यस वडाका वडाध्यक्ष लालजी साह स्वयं विवादित छन् । 

वडा कार्यालयसँगै रहेको यस विद्यालयमाथि वडाध्यक्षको कुनै ध्यान नै नपुग्ने गरेको स्थानीय रामस्नेहीले बताए । उनले वडाध्यक्ष साहले विद्यालय मात्र नभई वडाका अधिकांश कामहरुमाथि कुनै ध्यान नपुर्याएको गुनासो गरे । 

विद्यालयमा विद्यालयको नाम लेखेको बोर्ड पनि छैन । झट्ट हेर्दा जो पनि विद्यालय नै हो र भनेर झुक्किन्छन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ ।

‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर, विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’ प्रधानाध्यापक यादवले भने ।

यता, विद्यार्थीहरूले भने विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको एक विद्यार्थीले बताए । उनी भन्छन्, ‘कहिलेकाँही त विद्यालयमा हामी मात्रै आउँछौं ।’

शिक्षामा सबैको पहुँच र सबैलाई साक्षर बनाउने उद्देश्यसहित शिक्षा नीति अगाडि सारिए पनि त्यो सफल भने हुन सकेको छैन् । अधिकांश विपन्न वर्गका छोराछोरी पढ्ने सरकारी विद्यालयको विद्यार्थी भर्ना संख्या ह्वात्तै घटेपछि यस्तो अवस्था देखिएको हो ।

  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १७:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया