नयाँ उपराष्ट्रपतिका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान जारी छ । दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन् ।
पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहायप्रसाद यादवले गरेका छन् । अन्य उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउँदैनन् ।
यद्यपि उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन् । अन्य सांसदले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गरिरहेका छन् । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।