भारतलाई हराउँदै पारसआवद्ध एसिया लेजेन्ड्स लिगको फाइनलमा

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काआवद्ध एसिया लायन्स कतारमा जारी लेजेन्ड्स लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न एलिमिनेटर खेलमा इण्डिया महाराजसलाई ८५ रनले हराउँदै एसिया लिगको फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि लायन्सले सोमबार वर्ल्ड जायन्ट्सको सामना गर्नेछ । 

गत संस्करणको विजेता भारत भने यसपटक फाइनलसम्म पुग्न सकेन । एलिमिनेटर खेलमा एसियाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले १६.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान गौतम गम्भीरले ३२, सुरेश रैनाले १८, रोबिन उथप्पाले १५ र मोहम्मद कैफले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

एसियाका लागि सोहेल तनवीर, अब्दुर रज्जाक, मोहम्मद हफीजले दुई/दुई, इसरु उडाना, शाहिद अफ्रिदी र तिलकरत्ने दिलशानले एक/एक विकेट लिए । त्यसअघि दोहोस्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि उपुल थरंगाले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाए । त्यस्तै, मोहम्मद हफीजले ३८, अश्घर अफगानले अविजित ३३, तिलकरत्ने दिलशानले २७ र थिसरा परेराले २४ रनको योगदान दिए ।



भारतका लागि प्रज्ञान ओझा, स्टुअर्ट बिन्नीले दुई/दुई र प्रवीण ताम्बेले एक विकेट लिए । एसियामा आवद्ध पारसले एलिमिनेटर खेलमा बलिङ/ब्याटिङमै मौका पाएनन् ।

उनले जारी सिजनको दुई खेलमा ब्याटिङ गर्ने अवसर पाएका छन् । पारसले पहिलो खेलमा २ बलमा ३ रन तथा टोलीको चौथो खेलमा १० बलमा ८ रन बनाएका थिए । 



  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया