वीरगञ्जमा दुई उद्योगमा सिल, तीनजना पक्राउ

म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीवितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ ।

अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डस्ट्रिज सिल गरेको हो ।  

घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

म्याद गुज्रिएका खाद्यवस्तु रिलेब्लिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ । 

उद्योगका सञ्चालक भने फरार छन् । दुवै उद्योगबाट करिब ९१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ११:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया