भीम रावलले एमालेलाई कमजोर बनाउने गतिविधि गर्नुभयो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् । रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रूपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’ 

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ । उनले भने, ‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ । उहाँले एकपछि अर्को गल्ती गर्दै जानुभएको छ ।’  

अर्को प्रसंगमा उनले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताए । ‘घटनाक्रमले के पुष्टि गरिसक्यो भने नेकपा एमाले विना देशले स्थायित्व र सम्बृद्धि प्राप्त गर्न सक्दैन’, पौडेलले भने ।

उनले सरकारले विधि निर्माण प्रक्रियामा पनि असन्तुष्टि व्यक्त गरे । प्रतिपक्ष दलहरूलाई उपेक्षित गरेर अहिले सरकारले गरिरहेका प्रतिपक्षको उपस्थिति कमजोर पार्ने प्रयास भइरहेको उनको भनाइ रहेको छ । 

पौडेलले अहिलेको गठबन्धन भत्काउन चाहेमा केही हप्तामा नै भत्काउनसक्ने पनि पौडेलको दाबी छ । ‘अहिले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा छु’, उनले भने ।





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १२:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया