कामकाज ठप्प गरी आन्दोलनमा उत्रिए धनौजीका कर्मचारी

धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीहरु कार्यालयको कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले बुधबारदेखि ‘पेन डाउन’ गरी वडा कार्यालयदेखि गाउँपालिकासम्मका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् । वारुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापनबाहेकका सबै कामकाज ठप्प गरी कर्मचारीहरु आन्दोलित बनेका छन् । 

स्थानीय उपभोक्ता समितिका पप्पु राउतलगायतका व्यक्तिहरुले मंगलबार उपभोक्ता समितिको बक्यौता रकम माग गर्दै प्रमुख प्रशासकीय अधिकृत रञ्जित कुमार यादवलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ । त्यसैको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

उपभोक्ता समितिका व्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत यादवको टेबल तोडफोड गर्दै गालीगलौजमा उत्रेपछि तनाव भएको थियो । कार्यालयमा तनाव र कर्मचारी आन्दोलित भएपछि कामकाज ठप्प गरिएको छ । 

उनीहरुले कर्मचारीसँग दुर्व्यवहार गरी मानसिक तनाव दिएकोले आन्दोलन गर्नु परेको लेखापाल राधेश्याम रायले बताए । ‘कर्मचारीसँग दुर्व्यवहार गरेकोले कानुनी कारबाही नभएसम्म काममा फर्किंदैनौं,’ रायले भने, ‘गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायमा हामीले लिखित उजुरी गरेका छौं ।’



कर्मचारीहरुको लिखित उजुरीसँगै कामकाज अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष राजकुमार साहले समेत यस्ता उच्छृङखल गतिविधिविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् । धनौजी गाउँपालिकाले ९० उपभोक्ता समितिमध्ये ७४ वटाको करिब साढे ३ करोड रुपैयाँ गत वर्षकै भूक्तानी गर्न बाँकी रहेको छ । 

सडक, नाला, ग्राभेललगायतका कामहरुको बक्यौता तिर्न बाँकी रहेको उपभोक्ता समितिहरुको भनाइ छ । यता, कर्मचारीहरुले कागजी प्रक्रिया नपुगेकोले भुक्तानीमा समस्या भइरहेको बताएका छन् । 



  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १४:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया