अमेरिकामा फेरि आँधी, पाँच जनाको मृत्यु

दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । 

बिहीबार बिहान आएको आँधीमा परी पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ । 

प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितलाई सहयोग गर्ने बताएका छन् । उनले राष्ट्रपति जो बाइडेनबाट सङ्घीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन् । 

यसअघि मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो शहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । करिब दुई हजार बासिन्दा रहेको उक्त स्थानको स्थलगत निरीक्षणमा पुगेका राष्ट्रपतिले आँधीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गरेका थिए । 

निरपेक्ष गरिबीको रेखामुनि रहेका त्यहाँका करिब २ हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपतिले सङ्घीय सरकारलाई आदेश दिएका थिए । अस्थायी आवास, घर मर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरूप ऋण अनुदानलगायत सुविधा उपलब्ध गराउन उनले आदेश दिएका थिए ।    





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १४:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया