ओलम्पिक छनोट : दोस्रो चरणमा पुग्न फराकिलो जितको खोजीमा नेपाल

पेरिस ओलम्पिक महिला फुटबलअन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामविरुद्ध खेल्दैछ । नेपाल र भियतनामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । 

जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले भियतनामसँग ५–१ को हार बेहोरेको थियो । नेपाल आज बलियो पाहुना टोलीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्ने दाउमा छ ।  

यद्यपि विश्वकपमा छनोट भइसकेको र फिफा वरीयताको ३३ औँ स्थानमा रहेको भियतनामविरुद्ध जित निकाल्न वरीयताको १००औँ स्थानमा रहेको नेपाललाई सहज भने छैन । पहिलो खेलमा भियतनामले उत्कृष्ट फुटबल खेल्दै फराकिलो जित निकालेको थियो । ऊ आज पनि उच्च प्रदर्शन गर्दै अपराजित रहन चाहन्छ ।

दोस्रो चरणमा स्थान बनाउन नेपालले आज भियतनामविरुद्ध फराकिलो जित निकाल्नुको विकल्प छैन । भियतनाम अर्को सहज जित निकाल्दै दोस्रो चरणको टिकट पक्का गर्ने सोचमा छ ।  

छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनामले मात्र खेलिरहेका हुन् । समूहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

एसियाली छनोट राउन्ड १ मा प्रतिस्पर्धा गर्ने २६ टोलीले सात समूहमा खेल्दैछन् । प्रत्येक समूहका विजेता राउन्ड २ मा पुग्नेछन् । जहाँ उत्तर कोरिया, जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरियाको टोलीसँग भेट हुनेछ । 



अस्ट्रेलिया २०२० टोकियो ओलम्पिकमा चौथो स्थानमा रह्यो भने जापान क्वार्टरफाइनलमा स्विडेनसँग पराजित भएको थियो । चीन भने समूह चरणबाटै बाहिरिएको थियो । 

राउन्ड २ मा चार टिम सम्मिलित तीन समूह हुनेछन् । विजेता र उपविजेता राउन्ड ३ मा पुग्नेछन् । राउन्ड ३ मा होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा हुनेछ । विजेता टोली ओलम्पिकमा छनोट हुनेछ ।   



  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार ७:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया