सडक मिचेर राखिएका प्रहरी बिट हटाउन मेयर बालेन शाहको निर्देशन
मेयर बालेन भन्छन्- कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिच्नु गलत

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् ।

कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै मेयर शाहले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।

‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला,’ मेयर शाहले भनेका छन्, ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

नियम सबैका लागि लागू हुनेसमेत उनले उल्लेख गरेका छन् । मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’ 

उनले हटाउनु पर्ने प्रहरी बिटहरू पनि सार्वजनिक गरेका छन् । उनले सामाखुसी, जडीबुटी चोक, बालुवाटार, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, बौद्ध, ताहचल, पेप्सीकोला, असन चोक,  धोबी चोर, देउराली क्लब, रातो पुल, न्यूरोड पिपलबोट, चिकमंगलम, माछापोखरी र  त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडिका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । 

राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उल्लेख गर्दै मेयर शाहले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न तयार हुनुपर्ने उल्लेख गरेका छन् ।



काठमाडौं महानगरले अतिक्रमित संरचना र बागमति किनार अतिक्रमण गरी बसेकालाई हटाउन खोज्दा केन्द्र सरकारले सहयोग नगरेको मेयर शाहले गुनासो गर्दै आएका छन्। शुक्रबार महानगरपालिकाले गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरे पनि सफल भएन । शनिबार भने मेयर बालेन आक्रोसित देखिएका हुन् । उनले सिंहदरबारको फोहोर नउठाउने घोषणासमेत गरिसकेका छन् ।  



  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १४:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया