चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् ।

 उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरूको सप्रमाण खण्डन गर्नुपर्नेमा व्यवसायीको जोड छ । 

‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवद्र्धन’ सम्बन्धमा महावाणिज्य दूतावास र नेपाल चिया उत्पादक संघद्वारा आज झापाको काँकडभिट्टामा आयोजित अन्तक्र्रियामा नेपाली व्यवसायीले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि महावाणिज्यदूत पौडेलले पछिल्लो समय देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उनले नेपाली चिया र भारतको दार्जिलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पारे । उनले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब वैकल्पिक बजार खोज्नसमेत चिया व्यवसायीलाई सुझाव दिए । ‘अब भारत बाहिर पनि बजार खोज्नुपर्छ,’ उनले भने, ‘दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र युरोप पनि हाम्रो बजार बन्न सक्छ ।’

चिया उत्पादक तथा व्यवसायीले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जिटुजी तहबाट पहल आवश्यक रहेको बताएका थिए । 

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चियाबारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताए । 



नेपाली चियाको निर्यातमा भारतले ४० प्रतिशत भन्सार कर लगाउने तयारी गरिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसले नेपाली चिया भारतमा नबिक्ने र प्रतिस्पर्धामा टिक्न नसक्ने उनको भनाइ थियो । 

अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले जिटुजी छलफल चलाउनुपर्ने उनले सुझाब दिए । 



मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले चियाको निर्यातमा गैरभन्सार अवरोध हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै नेपाली मिडियाले पनि चियाका बारेमा विश्वबजारमा फैलाइएका नकारात्मक भ्रम चिर्न सघाउनुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चियाको निर्यातका लागि भारतीय निर्भरता कम गर्न र अन्य मुलुकमा पठाउनेबारेमा विकल्प खोज्न चिया व्यवसायीलाई सुझाए । चिया निर्यातमा संलग्न व्यवसायी रोशनकुमार अग्रवालले नेपालले भारतीय चियाको आयातलाई न्यूनीकरण र स्वदेशी चियाको संरक्षण गर्दै जाने नीतिअन्तर्गत भन्सार महसुल ३० बाट बढाएर ४० प्रतिशत बनाएपछि भारतीय पक्ष चिढिएको बताए । 

चिया उत्पादक तथा भारतीय चिया बोर्डले नेपाली चियालाई समेत भन्सार शुल्क लगाउने तयारी गरिरहेको जानकारी पाएको उनले बताए । भारतले चियामा भन्सार शुल्क लगाएमा नेपाली चियाको निर्यातमा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।

  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार २२:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया