अब अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुन्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताए । 

‘अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको छ’, उनले भने । उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व संकलन कम भएको उनको भनाइ छ ।

अर्थमन्त्री डा. महतले मुलुकको राजस्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए । उनले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिकोलगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताए । 

अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने उनको भनाइ थियो । उनले सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए ।

अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुने तर्फ सरकारको ध्यान केन्द्रित हुने बताए । उनले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धन हुनुपर्ने उल्लेख गरे । सरकारले राजस्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार २०:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया