हिसिला भन्छिन्- प्रधानमन्त्री प्रचण्ड गणितीय वर्चश्वमा रमाए, सत्ताको नेतृत्व लिन सकेनन्

नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्व मन्त्री हिसिला यमीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् । 

सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन भने नसकेको बताइन् । यमीले शान्ति सम्झौतापछि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गरिन् । 

‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ । तर सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन,’ उनले भनिन्, ‘आज यो १२ वर्षको अवधिमा कयौँ माओवादी पार्टीका नेताहरू कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने । कोही मेयर, कोही उपमेयर बने । सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरू सभासद् भए तर यो विषयमा किन ध्यान गएन ।’

उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटक पटक ध्यान नपुगेको हो ? भन्दै प्रश्नसमेत गरिन् । उनले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरूपण मेलमिलाप आयोगलाई महत्त्व नदिएको समेत बताइन् । 

उनले भनिन्, ‘काँग्रेस एमाले लगायतको त ध्यान गएन गएन तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन ? किन उहाँ गणितीय वर्चश्वमा रमाउने, किन राज्य पुनः संरचनासँग सम्बन्धित जोडिएको यो आयोगलाई किन उहाँले महत्त्व दिएन ? मैले सुनेको छु, आयोगमा माआवादीले नै पठाएका सदस्यहरुले हामीलाई उपेक्षित गरे, समय माग्दा हामीलाई समय दिएन, यही पनि अहिले जुन संशोधन विधेयक अघि बढाउनु भन्दाअघि हाम्रो सल्लाह मागेन ? उहाँहरूका यसमा पनि केही आपत्ति छन्, आफ्नै मान्छेलाई किन विश्वास गरेन ?’



उपाध्यक्ष यमीले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरूपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरूलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्नसमेत गरिन् ।  



  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १५:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया