तनहुँलाई भाषण गर्ने हाेइन, काम गर्ने नेता चाहिएकाे हाे  : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाती राखेर एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । 

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारका लागि पुगेका सिंहले डुम्रेमा आयोजित कार्यकर्ता भेटघाटमा हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । 

'हरेक पार्टीमा असन्तुष्टि होला, चुनाव मुखैमा आइसक्यो । अरु कुरालाई पछि सम्बोधन गरौँला । गठबन्धनका नेताहरू इमानदार भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।'

नेता सिंहले गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । 'गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, अनि गठबन्धनका उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ,' उनले भने । 

पुराना दलले केही गर्न सकेन भनेर जन्मिएका नयाँ दलले पनि केही गर्न नसकेको सिंहको भनाइ थियो । 'बोल्नका लागि नारा दिन सजिलो छ, काम गरेर देखाउन गाह्रो छ, नयाँ दलले पनि केही गर्न नसकेको त देखिहालियो नि,' उनले भने । 

नेता सिंहले वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताए । संविधानको रक्षा गर्दै लोकतन्त्र संस्थागत गर्नका लागि गठबन्धन बनेको उनको भनाइ थियो । 



उम्मेदवार भट्टराईले चुनाव जितेपछि गठबन्धन सरकारमा प्रतिनिधित्व गर्नसक्ने नेता सिंहले बताए । 'अहिले गठबन्धनको सरकार छ, उहाँले जितेर आएपछि सरकारमा प्रतिनिधित्व नगर्ला भन्न सकिँदैन, तनहुँ जिल्लाले सधैँ सरकारमा जिम्मेवारी पाइरहेको छ,' उनले भने । 

भाषण दिने नेता चाहिएको हो कि काम गर्ने नेता चाहिएको हो जनताले मूल्यांकन गर्नुपर्नेमा उनको जोड थियो । 'गोविन्दजी त यहाँका जनताको हरेक सुख-दुःखमा काम गरेको मान्छे हो, पाँच वर्षमा आएर भाषण गर्ने नेता चाहियो कि काम गर्ने नेता चाहियो त्यसको मूल्यांकन हुनुपर्छ,' नेता सिंहले भने । 



  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार १८:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया