प्रदूषणका कारण अस्पतालमा बिरामी बढे, सतर्कता अपनाउन चिकित्सकको सुझाव

केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको छ । देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण उपत्यकामा वायु प्रदूषण बढेको हो । 

आइतबार मात्र आईक्यू एअरले काठमाडौंलाई विश्वकै सबैभन्दा बढी पदूषित शहरको सूचीमा राखेको थियो । सोमबार बिहान पनि काठमाडौंको मौसम पूर्णरूपमा सफा छैन । तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायमै रहने मौसमविद्ले जनाएका छन् ।  

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौं उपत्यकामा केही दिन पानीपर्ने सम्भावना छैन ।         

वायु प्रदूषण बढेपछि आँखा पोल्ने गरेको गुनासो गर्नेको संख्या बढेको छ । अहिलेको प्रदूषण हानिकारक भएकाले बालबालिका तथा स्वासप्रश्वास र मुटुका बिरामीलाई बढी असर गर्ने गरेको चिकित्सकले बताएका छन् ।     

प्रदूषणबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी बढी प्रभावित हुन्छन् । प्रदूषणले एलर्जी, नाक, कान, घाँटीको संक्रमण, खोकी लाग्ने, थकान महसुस हुने, आँखालाई सुक्खा बनाउने, पोल्ने, रातो हुने जस्ता समस्या हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र निस्किनै परे मास्क प्रयोग गर्न चिकित्सकको सुझाव छ । 

प्रदूषण बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको संख्या पनि बढ्न थालेको छ । वीर अस्पतालमा विगतमा दैनिक सरदर २३ सयको संख्यामा बिरामी आउने गर्थे । तर, केही दिनयता भने दैनिक २५ सय बिरामी उपचारका लागि अस्पताल आइरहेका छन् । 



अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार प्रदूषणकै कारणले बिरामी बढ्न थालेको हो वा अन्य कारणले भनेर अध्ययन भइरहेको छ । महाराजगन्स्थित त्रिवि शिक्षण अस्पतालमा पनि बिरामीको संख्या बढेको छ ।

अहिले दैनिक ओपीडीमा सरदर २५ सय र इमर्जेन्सीमा ३ सयजना बिरामी आउने गरेका छन् । उपचारमा आउनेमध्ये धूवाँधूलोका कारण छाती र घाँटीको संक्रमण भएका बिरामी भेटिन थालेको त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले जानकारी दिए ।  



कान्ति बाल अस्पतालमा जँचाउन आउनेमध्ये करिब ६० प्रतिशत बालबालिका प्रदूषणसँग सम्बन्धित हुने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. अजित रायमाझीले बताए ।      

  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १०:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया