नाइँ नभन्नू ल-६ : पुरानै शैलीको प्रस्तुति, दर्शकको अरुचि

नेपाली चलचित्रमा शृंखलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाइँ नभन्नू ल’ । पहिलो शृंखला बनेको चार वर्षपछि दर्शकसामु आएको दोस्रो शृंखला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए । 

त्यसपछि यसको शृंखला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ शृंखला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ । बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यसपटक वयस्कमा पुर्याइएको छ । तर, शृंखला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताए । 

गीत संगीतमार्फत सफल बनिरहेको ‘नाइँ नभन्नू ल’को छैटौँ शृंखलाको गीत दर्शकलाई याद छैन । त्यसको प्रभाव चलचित्र भवनमा देखिएको छ । चलचित्र भवनमा न्यून ‘सो’ पाएको चलचित्रको व्यापार पनि उस्तै छ । 

गीत संगीत र कथाले दर्शकलाई आकर्षित गर्न सकेको छैन । भुल्ने रोग (एमेनेसिया)लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा)को वरपर घुमेको छ । प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षेत्री)ले गरेको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो । ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो। 

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ । 

घिसिपिटी पुरानै शैलीको प्रस्तुतिले दर्शकलाई चलचित्र भवनमा आनन्दित पार्दैन । निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन् । 



चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन् । यसमा कलाकार केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ । 

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ शृंखला बन्ने संकेत गरेका छन् । चलचित्रको अन्त्यमा अभिनेत्री स्वस्तिमा खड्कामार्फत कथा अगाडि बढ्ने दृश्य राखेका छन् । 



‘दर्शकको रुचिअनुसार नै सातौँ शृंखलाको काम अगाडि बढ्नेछ । अहिले प्रदर्शनरत चलचित्रको प्रतिक्रिया हाम्रो लागि मार्गनिर्देश हुनेछ,’ निर्देशक आचार्यले भने ।  

  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार २३:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया