आन्दोलनरत चिकित्सकले भने- आयोगका पदाधिकारी ध्रुवे हात्ती जस्ता भए

एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकले आज पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  

मंगलबार माइतीघर मण्डलमा भेला भएर चिकित्सकले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरूले आज २२ औँ दिनसम्म पनि सरकार र सम्बन्धित निकायले आफ्ना माग पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।  

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन जनसकेको बताए । उनले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए । 

पन्थीले आयोगमा नेतृत्व गरेका पदाधिकारी कानुनी राजभन्दा माथि हो भन्दै प्रश्न पनि गरे । ‘चिकित्सा शिक्षा आयोग र आयोगको नेतृत्व गरिरहेका पदाधिकारीहरूले सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाअनुरूप योग्यताक्रम नमिचिने गरी अद्धिको जुन आदेश थियो, त्यसको विरुद्धमा उहाँहरू गएको कारणले गर्दा हामीले अवहेलनाको मुद्दा दर्ता गरेका छौँ । आयोगमा नेतृत्व गरेका पदाधिकारीहरू कानुनी राजभन्दा माथि ध्रुवे हात्ती, उन्मत्त हात्ती बनाएर बसेका छन्, उनीहरूले विद्यार्थीहरूको मर्का बुझेका छैनन्,’ उनले भने ।

यस्तै, प्रदर्शनमा सहभागी अर्का चिकित्सक चन्दनकुमार गोइतले वरियताअनुसार विद्यार्थीहरूले भर्ना पाउनुपर्ने बताए । उनले विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताए ।   

हामी दुई महिनादेखि आन्दोलनरत छौँ । हाम्रो माग योग्यताक्रम मिचिनु नहुने हो । र्‍यांकअनुसार विद्यार्थीहरूले भर्ना पाउनुपर्छ, अहिले गोलाप्रथा जस्तो भयो । विद्यार्थीहरूमाथि आयोगले बारम्बार आक्रमण गरिरहेको छ,’ गोइतले भने ।  



त्यस्तै, आन्दोलनरत अर्का चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताइन् । उनले प्रक्रियाअनुसार पढ्न मन रहे पनि नपाएको गुनासो गरिन् । श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग दुई दिनमै सम्बोधन भए पनि विद्यार्थीहरूका माग सम्बोधन गर्न कुनै निकाय नआएको बताइन् ।   

‘हामीले परीक्षा दिएको ५ महिना भयो, हामीलाई प्रक्रियाअनुसार पढ्न मन छ, महावीर पुनको दुई दिनमा पूरा भयो तर हाम्रो माग कसैले सुनेन । चिकित्सा शिक्षा आयोगले हाम्रो केस लम्ब्याउँदै गरेको छ,’ उनले भनिन् ।   



  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार १४:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया