नेपाललाई ७ अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी डलर ५ करोड २८ लाख (करिब ७ अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ ।

आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो ।  

मुद्रा कोषको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्रा कोषले जनाएको छ ।  

विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले आएमएफमार्फत इसिएफ ऋण सहायता लिने प्रक्रिया थालेको थियो । गत वर्ष अर्थात् सन् २०२२ जनवरी १२ तारिखमा आइएमएफको कार्यकारी समितिले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडिआर) का रूपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो ।

आइएमएफबाट इसिएफ सुविधाअन्तर्गत पाइने  

सहुलियतपूर्ण ऋणको कोटामा नेपालले १ सय ८० प्रतिशतसम्म ऋण लिएको छ । त्यस्तो, सहुलियतपूर्ण ऋणमध्ये अमेरिकी डलर ११ करोड बराबर आइएमएफले गत वर्ष जनवरीमै निकासा दिएको थियो । 



हाल निकासा दिन लागिएको ५ करोड २८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौताअन्तर्गतको अर्को किस्ता हो । नेपालले बजेट फाइनान्सिङका रूपमा प्रयोग गर्न पाउने गरी ३८ महिनाको वित्तीय सहायता प्याकेजका रुपमा आइएमएफले यस्तो सहुलियतपूर्ण ऋण सुविधा नेपाललाई दिएको हो ।

नेपालले यसअघि सन् २०२० मे महिनामा आइएमएफमार्फत र्‍यापिड क्रेडिट फेसिलिटी (आरसिएफ) का रूपमा अमेरिकी डलर २१ करोड ४० लाख बराबर ऋण लगिसकेको छ । 



इसिएफमार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षाका क्रममा नेपालको आर्थिक वृद्धिदरमा सङ्कुचन रहेको तथा आन्तरिक र बाह्य क्षेत्र समेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमहरूको प्रभाव अर्थतन्त्र देखिन थालेको आइएमएफले उल्लेख गरेको छ । 

कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको पनि आइएफएफले जनाएको छ । रासस  

  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार १४:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया