१२ वर्षे गणत्रान्त्रिक यात्राको गम्भीर समीक्षा गरौँ – कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समीक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दललाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन् ।

‘यो १२ वर्षको अवधिलाई इमानदारीपूर्वक समीक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुंगिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको बिउ कहाँबाट र किन आयो ?’ थापाले प्रश्न गरे ।

साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थापाले २०६२ सालमा तत्कालीन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरूले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समीक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए । 

लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकत्ता रहेको उनले औँल्याए । गणतन्त्रले बेथिति मात्रै बढाएको भन्दै अध्यक्ष थापाले अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्नेमा जोड दिए । उनले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग माग गरे । 



केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रबारे पुष्टि गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे १ चैतदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे ।

२२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने लगायतका माग समेटिएको उनले जानकारी दिए ।



थापाले राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ देखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पुष्टि गर्ने प्रयास गरे ।

पार्टीले १५ गते ताप्लेजुङ सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने उनले जनाए । थापाका अनुसार, हिन्दुराष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मूल उद्देश्य हो । त्यसैगरी, संघीयता कार्यान्वयन र चुनौती, धर्मनिरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए ।

ताप्लेजुङबाट सुरु हुने यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं आएर समापन हुनेछ ।

ताप्लेजुङबाट काठमाडौंसम्मको १५ दिने यात्राले २ हजार ८ सय किमि दुरी तय गर्नेछ । 

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल संकलन गरी काठमाडौंमा आयोजना हुने कलशयात्रामा प्रयोग गरिनेछ, र पशुपतिनाथको मूर्तिमा अभिषेक गराइनेछ । यात्राका क्रममा साना–ठूला १०० भन्दा बढी सभा हुने अध्यक्ष थापाले बताए ।

२२ बुँदे मागपत्रलाई सरकारले बेवास्ता गरे चैत १ देखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गर्ने र उक्त विरोधलाई काठमाडौंसम्म विस्तार गर्ने थापाको भनाइ छ ।

थापाले केपी ओली नेतृत्वको सरकारले एक वर्षमा जनतालाई निराशा मात्रै दिएको आरोप पनि लगाए ।

पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे थापाले गम्भीर प्रश्न उठाएका छन् । ‘पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ, हामीसँग किन एकता गर्न चाहनुभएन ?’ थापाले प्रश्न गरे, ‘किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो ?’ 

२ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुन सक्ने थापाको आशंका छ । 

  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार २०:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया