विधान अधिवेशनको तयारीमा जुट्यो जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपाल विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो १ जेठदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार विधानको मस्यौदा तयार भइसकेको र यसका लागि मागिएको सुझाव लगभग सातै प्रदेशबाट प्राप्त भइसकेकाले अब केही दिनमा बैठक बसेर त्यसलाई अन्तिम रूप दिइनेछ । विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको सो पार्टीले जनाएको छ ।

प्रतिनिधि चयन गर्नेसम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको र उनीहरूले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको समेत प्रचार विभाग प्रमुख बस्नेतले बताए ।  

यसअघि गत २६ चैतदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको भए पनि उपनिर्वाचनका कारण अधिवेशन आउँदो जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने गरी सारिएको थियो ।  

विधान अधिवेशनमा पेस गरिने विधानको मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठित कार्यदलले तयार गरेको हो । विधान संशोधन मस्यौदामा केन्द्रीय समितिको सदस्य सङ्ख्या घटाउन प्रस्ताव गरिएको छ । 

विधानको मस्यौदामा एक सय ५१ सदस्यीय कार्यसमितिको प्रस्ताव गरिएको छ, भने मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने तथा ७० वर्ष पूरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ । 



केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिबिम्बित हुने गरी पार्टी सदस्य सङ्ख्याको अनुपातमा मधेशी, आदिवासी जनजाति, थारू, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसङ्ख्यक गरिएको सङ्ख्यक समुदाय जातीय, सामाजिक समूहबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने भनि मस्यौदामा उल्लेख गरिएको छ । 



  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १४:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया